एजेन्सी । भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटको कप्तानबाट बाहिरिने घोषणा गरेक छन्। भारत र दक्षिण अफ्रिकाबीचको तीन टेस्ट सिरिजमा भारत २-१ ले पराजित भएको अर्को दिन उनले टेस्टको कप्तानबाट बाहिरिने घोषणा गरेका छन्।
यसअघि भारतीय क्रिकेटको तीनवटै फर्म्याटका कप्तान रहेका उनले टी २० को विश्वकप लगत्तै टी २० फर्म्याटको कप्तानी छोडेका थिए भने त्यसको केहि समयपछि एकदिवसीय क्रिकेटको कप्तानी पनि छाडेका थिए।
भारतीय क्रिकेटको टेस्ट इतिहासकै सफल कप्तान रहेको कोहलीले ६८ म्याचमा कप्तानी गर्दा ४० खेलमा विजय हासिल गरेका थिए भने १७ खेलमा पराजय ब्यहोरेका थिए। टेस्ट क्रिकेटमा कप्तानका रूपमा महेन्द्र सिंह धोनी र सौरभ गांगुलीभन्दा पनि उनको राम्रो रेकर्ड छ।
सन् २०१४ १५ मा अस्ट्रेलियाको एडिलेडमा भएको टेस्ट शृंखलामार्फत कोहलीले भारतीय टिमको कप्तानी सम्हालेका थिए। तत्कालीन कप्तान धोनीको औंलामा चोट लागेपछि बाँकी उनले कप्तानी गरेका थिए। सन् २०१५ मा धोनीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेपछि कोहली नै भारतीय टिमको कप्तान चयन भएका थिए। उनको नेतृत्वमा भारतले श्रीलंकासँग खेलेको पहिलो टेस्ट खेलमा २-१ को जीत निकालेको थियो।
उनकै कप्तानीमा भारत विश्व टेस्ट सूचीको पहिलो स्थानमा पुगेको थियो भने गत वर्षमात्रै विश्व टेस्ट च्यापियनशिपको फाइनलमा पुगेको थियो।
Facebook Comment
Comment