काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाको चासो राखेका छन् ।
उनले गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् ।
गठ्ठाघरमा भएको दुर्घटनाबारे दुःख व्यक्त गर्दै मन्त्री लेखकले भनेका छन्, ‘गट्ठाघरको दुर्घटना हुनुमा कसैको गल्ती छ कि ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।’
बिहिबार दिउँसो करिब २ बजेतिर गठ्ठाघर चोकमा अकाशे पुलबाट केही पर सडक छेउको बुट्यानमा लुकेर ट्राफिक प्रहरीले स्पीडचेकर क्यामेरासहित स्पीड चेकिङ गरिरहेका थिए ।
ट्राफिक चेकिङमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमी वृत्तको जिम्मा लगाएको छ ।

घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गर्नुका साथै गट्ठाघरमा मूल सडक अवरुद्ध पारेर प्रदर्शन गरे । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको थियो ।
प्रदर्शनकारीले सडकमा जथाभावी गाडी रोकेर चेकिङ गर्दा दुर्घटना भएको भन्दै प्रहरीविरुद्ध आक्रोश पोखेका थिए ।
प्रत्यक्षदर्शीहरूका अनुसार ट्राफिक प्रहरीले बिहान १२ बजेदेखि नै लुकेर चेकिङ गरिरहेका थिए । उनीहरूले भन्छन्, “झट्ट ट्राफिक देखेपछि ट्रकले ब्रेक लगाउँदा रोकिएन, २०–३० मिटरसम्म स्कूटरलाई घिसारेर लग्यो । ट्राफिक चेकिङकै कारण दुर्घटना भएको हो ।”
ट्राफिकले थापेको ‘डेथ ट्र्याप’ : लुकेर चेकिङ गर्दा दुर्घटना, यसरी कुटिँदै लखेटिए प्रहरी (भिडिओसहित)
Facebook Comment
Comment