प्रिय पात्र

‘नोरा’ अति नै सशक्त पात्र

‘नोरा’ अति नै सशक्त पात्र

म साहित्यप्रेमीका साथै पुस्तक पढ्न रुचाउने व्यक्तिसमेत हुँ। लेखनमा पनि उत्तिकै अभिरुचि राख्छु। म त्यस्ता पुस्तकहरू पढ्न रुचाउँछु, जसले जीवनमा नयाँ बाटो देखाओस्। हुन त, जीवनका प्रारम्भिक चरणमा मैले आफ्नो बाटो आफैंले नै खोजें। किनभने, मेरा अगाडि कुनै मानिस बढिसकेका थिए, हिँडिसकेका थिए। म एउटी छोरी मान्छे भएकी हुँदा पनि मैले हिँड्ने बाटो भिन्दै भयो।

जीवनलाई नयाँ बाटोमा हिँडाउनु पर्छ भन्ने सोच बोकेर मैले राम्रा र मानव जीवनलाई उत्प्रेरित गर्ने खालका पुस्तकहरू खोज्न थालेँ। त्यही क्रममा मैले केही पुस्तक फेला पारेँ। अझ, त्यस्ता पुस्तकका पात्रहरूले त मेरो जीवनमा अधिक नै प्रभाव पारे। जसमध्ये म तीन पात्रलाई सदैव सम्झिरहन्छु। तीमध्ये युवाकालीन समयमा पढेकीमा पावेल र नोरा हुन् भने पछिल्लो समय पढेकीमा सीमान्ती।

१. पावेल- युवाकालीन अवस्थामा नयाँ-नयाँ पुस्तक खोज्ने क्रमसँगै मैले ‘अग्निदीक्षा’ फेला पारें। उक्त उपन्यासका लेखक निकोलाई अस्त्रोभस्की स्वयं नै उपन्यासको पात्र भए पनि नाम मात्रै अर्कै अर्थात् पावेल कोर्चागिन राखेका थिए। उपन्यासको पात्र पावेलको एउटा भनाइ मलाई यति धेरै मन परेको थियो कि, जुन भनाइलाई मैले डायरीमा समेत उतारेर राखेकी थिएँ। त्यो भनाइ थियो, ‘जीवनमा हरेक काम गर्दा यसरी याद गर, होस पुर्‍याउ र सकारात्मक कर्म गर, दुष्कर्म कहिल्यै नगर। मानिस आखिर मर्नैपर्छ तर मर्नुअघि बाँचुन्जेल आफूले गरेको काम सम्झेर मन प्रफुल्ल होस्। आफ्ना दुष्कर्म सम्झेर मैले जीवनमा गर्नै नहुने काम गरेछु भनेर पश्चाताप नहोस्।’

पावेलको यो भनाइलाई मैले किशोरकालीन अवस्थादेखि नै मनभित्र साँचेर र सँगालेर राखेँ। पावेलको उन्नत विचारले मलाई जीवनभर नै प्रभाव पार्‍यो। पावेलको विचारले मलाई यति गहिरो प्रभाव पार्‍यो कि, मैले उनको विचारलाई हृदयंगम गरेँ र उनको विचारलाई पालना गर्न कोसिस गरेँ।

समाजको विकास र उन्नतिका निम्ति भिन्दाभिन्दै काम गरेका यस्ता पात्रहरू धेरै छन्। उपन्यासकार स्वयंको विचार त्यो उपन्यासमा आएको छ, पात्रलाई त उनले बोल्न मात्र दिएका हुन्।

२. नोरा- जब मैले हेनरी इब्सनको नाटक द डल्स हाउस (पुतलीको घर) पढेँ, त्यो नाटकको पात्र नोरा मेरा निम्ति जीवनभरि नै छुने पात्रमा दरिएकी छन्। नोरा मेरा निम्ति धेरै प्रिय पात्र भइदिइन्। उनी वीरता र साहसिक काम गरेर आफूलाई एक उत्कृष्ट चरित्रका रुपमा प्रदर्शन गर्न सफल भएकी थिइन्।

नाटककार इब्सन त एक पुरुष थिए। तर उनी पुरुष भए पनि तत्कालीन समय र परिस्थितिका निम्ति एउटी यस्ती पात्र तयार पारे, जुन समय संसारभरि नै नारीहरू दोस्रो दर्जाको नागरिकको रुपमा बाँच्न बाध्य थिइन्।

‘पुतलीको घर’ मा एउटा असल मनकी श्रीमती थिइन्- नोरा। तर उनका पतिले उनलाई अर्धाङ्गिनी वा श्रीमतीको व्यवहार गर्ने भन्दा पनि एउटी पुतलीको रुपमा मात्र लिने गर्थे। विभिन्न घटनाबाट एकदिन नोराले थाहा पाउँछन् कि, ‘म त यो घरको गृहिणी वा श्रीमती होइन रहिछु, म त एउटी पुतलीबरावर रहिछु।’ यस्तो सोच्ने अवस्थामा पुगेपछि नोराले घर त्याग्छे। नोराको त्यो ब्युँझाइ तत्कालीन समयमा संसारभरिका नारीहरूका निम्ति ठुलो ब्युँझाइथियो।

पुरुषवादी मानसिकताको वर्चस्व रहेको तत्कालीन समयमा नोरा एउटी नायिकाको रुपमा उदाउँछे। नोरा ब्युँझ्नु भनेको सूक्ष्म विद्रोह थियो। किनभने, त्यसपछि संसारभरि नै नारीहरू ब्युँझने हावा बग्न थाल्यो। त्यतिबेला नारीहरू अहिलेजस्तो जागृत भइसकेका थिएनन्।

त्यो नाटक हेरेपछि संसारका अधिकांश शिक्षित महिलाको मन परिवर्तित भएको पाइन्छ। धेरै घरमा विद्रोह भए र कतिपयले त घर छाडे। यो नाटकको साहित्यिक मूल्यवत्ता बुझेपछि महान् चिनियाँ लेखक लु शूनले एउटा गहन लेख लेखे, ‘नोराले घर छाडेपछि के भयो ?’ लु शूनले प्रश्न उठाएका छन्, ‘नोराले घर छाडेपछि उनी कहाँ जान्छिन् त ? कहाँ पुगिन् त ?’ लु शूनले यो लेख लेखेका बेलासम्म यो प्रश्नको उत्तर आइसकेको थिएन। किनभने, त्यतिबेलासम्म चीनमा ‘नारी-पुरुष बराबर’ भन्ने नारा पनि गुन्जिसकेको थिएन।

यो प्रश्नको जवाफ मैले भने दिने प्रयत्न गरेको छु। मेरो जवाफ छ- ‘नोराले घर छाडेपछि उनी आफ्नो जीवनको हकदार आफैं हुन्छिन्, आफ्नो जीवनलाई आफैंले बुझ्छिन्। आफ्नो जीवनलाई बुझिसकेपछि उनी सशक्त हुन्छिन्, उनी आफ्नो जीवनको निर्णयकर्ता आफैं हुन्छिन्, आफ्नो जीवनको इच्छा पूरा गर्दै अघि बढ्छिन्।’

यद्यपि, तत्कालीन समय घर छाड्दा नोराले पक्कै पनि दुःख त पाइन होली। तर उनीपछिका नारी र अहिलेका नारी त्यो बेलाको जस्तो दुःख भोग्नुपर्ने अवस्थामा छैनन्। अहिले पनि ब्युँझन नसकेका र चेतनाबाट वञ्चित नारीहरू भने दुःख भोग्न बाध्य छन्।

३. सीमान्ती- गएको वर्ष मदन पुरस्कार चयन सूचिका उत्कृष्ट दस कृतिमध्ये एउटा मात्रै महिला लेखिकाको पुस्तक छानिएको थियो, ‘फिलिङ्गो’। युवा लेखिका प्रभा बरालद्वारा लिखित यो उपन्यासका मुल पात्र छिन्- सीमान्ती। उनी एकदमै साधारण महिला हुन्।

सीमान्तीको श्रीमान् जापान जान्छन् र उनी पनि श्रीमान्सँगै जापान जान्छे। जापान पुगेपछि जापानको अत्याधुनिक विकासलाई उनले नजिकैबाट नियाल्न पाउँछे। तर जीवनयात्राका क्रममा आफूले विश्वास गरेका श्रीमान्बाट उनले बिस्तारै बेग्लै व्यवहार पाउन थाल्छे। बुझ्दै जाँदा आफ्नै श्रीमान्बाट श्रीमतीलाई हेर्ने दृष्टिकोण र व्यवहारमा समानता पाउँदिनन्। श्रीमान्ले श्रीमतीलाई दिनभरि काममा लगाउँछन्। उनले कमाएका सबै रकम श्रीमान्ले नै खर्च गरिरहेका हुन्छन्। श्रीमान्-श्रीमती भनेका सँगै बस्ने र एकअर्कामा यौन सन्तुष्टि लिने हो भन्ने हामी बुझ्छौं। तर श्रीमतीको पनि मन हुन्छ, इच्छा हुन्छ भन्ने कुरा श्रीमान्ले बुझ्दैनन्। पछि श्रीमतीले थाहा पाउँछे कि, आफ्ना श्रीमान्को त अर्कै महिलासँग घनिष्ट सम्बन्ध हुँदोरहेछ।

विदेशमा श्रीमान्को दासीजस्तो भएर बस्नुभन्दा वा मानसिक तनाव झेलेर बाँच्नुभन्दा उनी स्वदेशमा फर्किने टुंगोमा पुग्छे। र, विदेशमा रहँदा कमाएको पैसा लिएर उनी स्वदेश फर्किन्छे र त्यतिन्जेलसम्म उनी मानसिक र आर्थिक रुपमा सशक्त बनिसकेकी हुन्छे। स्वदेशमा फर्किएपछि नारीहरूलाई सशक्त तुल्याउन योजना बनाउँछे।

पछिल्लो समय पढेको आख्यानमा सीमान्ती मलाई धेरै मन परेकी पात्र हो। सीमान्तीको संघर्ष र कार्यकलापले मलाई असाध्यै छोयो। विदेश बस्दा उनले कति मानसिक तनाव झेल्नु पर्‍यो, कति शारीरिक कष्ट बेहोर्नु पर्‍यो, यो एउटी नेपाली महिला पात्रले संसारका विभिन्न ठाउँमा रहेर काम गर्दै आएकी धेरैधेरै महिला पात्रहरूको प्रतिनिधित्व गरेको छ।

तस्वीर उपलब्ध छेमी दोर्जे


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved