काठमाडौं । क्युवाली पहलवान मिजान लोपेजले पाँच ओलम्पिकमा लगातार पाँच स्वर्ण पदक जितेर इतिहास रचेका छन् ।
अबको केही सातामा ४२ वर्ष पुग्न लागेका लोपेजले चिलीकी रेस्लर यास्मिन अकोस्टालाई हराएर यो कीर्तिमान आफ्नो नाममा बनाएका हुन् ।
उनले पुरुष ग्रीको रोमन कुस्तीको १३० केजी तौल समूहमा स्वर्ण पदक जितेर लगातार पाँचौं पटक व्यक्तिगत उपाधि जितेका हुन् ।
लोपेजले आफ्नो पाँचौं स्वर्ण पदक जितेपछि आफ्नो जुत्ता म्याटमा छोडेर उनले ग्रीको-रोमन कुस्तीबाट सन्यास लिएको अनुमान गरिएको छ । तर, उनले औपचारिक रुपमा घोषणा भने गरेका छैनन् ।
यसअघि लगातार चार पटक स्वर्ण पदक जित्ने कीर्तिमान कार्ल लुइस (लामो जम्प), माइकल फेल्प्स (२०० मिटर पौडी), केटी लेडेकी (स्विमिङ ८०० मिटर फ्रीस्टाइल), अल ओर्टर (डिस्कस थ्रो), पॉल एल्भस्ट्रोम (नौकायन) र काओरी इको (कुश्ती) को नाममा थियो ।
लोपेजले आफ्नो २३ ओलम्पिक खेलमध्ये एक खेलमा मात्र हार व्यहोरेका छन् । लोपेज सन् २००४ एथेन्स ओलम्पिकमा क्वार्टरफाइनल खेलमा हारेका थिए ।
Facebook Comment
Comment