भ्रष्टाचार गर्नेको अनुहार हेर्दिनँ : प्रधानमन्त्री ओली

नेपालभ्युज

भ्रष्टाचार गर्नेको अनुहार हेर्दिनँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै किसिमका भ्रष्टाचार रोकथाम, नियन्त्रण र अन्त्य गर्ने प्रतिबद्धतामा सरकार दृढ रहेको बताएका छन् ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधनको उद्देश्य र कारणबारे प्रस्ट्याउँदै उनले भ्रष्टाचार निर्मूल गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको दोहोर्‍याए ।

ओलीले भने, “भ्रष्टाचारप्रतिको शून्य सहनशीलता सरकारको नीति हो, ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य छ । म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ ।”

भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न ऐन संशोधन आवश्यक भएको जनाउँदै प्रधानमन्त्रीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनु आफ्नो लक्ष्य भएको बताए ।

देश र जनतालाई केन्द्रमा राखेर सरकार क्रियाशील रहेको बताउँदै उनले सामाजिक न्यायको सुनिश्चितता र शान्तिसुरक्षा कायम गर्नु सरकारको पहिलो जिम्मेवारी भएकाे बताए ।

उनले भने, “यो सरकार प्रतिशोधका लागि बनेको होइन, आर्थिक विकास यसको लक्ष्य हो । कसैलाई दुःख दिने मनसाय छैन । भ्रष्टाचार गर्नेको अनुहार हेरिँदैन ।”

साथै, प्रधानमन्त्री ओलीले कानुनको दृष्टिमा सबै बराबर हुन भन्ने मान्यता स्थापित गर्न सरकार लागिपरेको जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved