काठमाडौं । संयुक्त राष्ट्रसंघले मध्यपूर्वमा तनाव बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । इजरायलले हमास र हिजबुल्लाहका शीर्ष कमाण्डर माथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव थप चुलिने भन्दै राष्ट्रसंघले चिन्ता जनाएको हो ।
इजरायल र हमासबीच युद्धविरामको प्रयास भइरहेका बेला इरानमा हमासका शीर्ष कमाण्डर स्माइल हानिया र लेबनानमा हिज्बुल्लाहका शीर्ष कमाण्डर फुआद शुक्रमाको मृत्युले शान्ति बिथोलिनेमा राष्ट्रसंघले सम्बन्धित पक्षलाई सचेत गराएको छ ।
हमास, हिजबुल्लाह र उनीहरुलाई साथ दिँदै आएको इरानले पछिल्लो आक्रमणको जवाफ दिने घोषणा गरिसकेको छ । दुवै पक्ष आमने सामने हुँदा मध्यपूर्वमा तनाव बढ्ने भन्दै राष्ट्रसंघ चिन्तित भएको हो ।
संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफान दुजेरिकले न्यूयोर्क मुख्यालयमा पत्रकार सम्मेलन मार्फत मध्यपूर्वमा तनावको अवस्था खतरनाक हुन सक्ने उल्लेख गरेका छन् ।
गाजा क्षेत्रमा युद्धविराम गर्ने, इजरायली बन्धकलाई रिहा गराउने, गाजा क्षेत्रमा प्यालेस्टिनी जनतालाई मानवीय सहायता बढाउने शान्ति बहाल गराउने प्रयास भइरहेका बेला थप कमजोर बनाउने प्रयास भइरहेको भन्दै प्रवक्ता दुजरिकले चिन्ता जनाएका हुन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि सबै पक्षलाई अधिकतम संयमता अपनाउन आह्वान गरेका छन् ।
Facebook Comment
Comment