काठमाडौं । उद्यमी तथा साहित्यकार बसन्त चौधरीले शेयर बजारमा आएको उछाल आर्थिक पुनरुत्थानको संकेत भएको बताएका छन् । शुक्रबार साँझ एक्समा एक पोष्ट शेयर गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नयाँ मन्त्रिमण्डलको शपथ ग्रहण संगै नेपालको शेयर बजारमा आएको यस परिवर्तनले लगानीकर्ताहरूको आत्मविश्वासलाई पुनः स्थापित गरेको सहजै अनुमान गर्न सकिने बताएका छन् ।
उनले एक्समा लेखेका छन् ‘अब अर्थतन्त्र सुधारको बाटोमा जान्छ भन्ने भरोसाको संकेत पनि हो यो, वित्तीय बजारमा देखिएको सुधार वर्तमान सरकारको प्रभावकारी आर्थिक नीति र सुधारहरू कार्यान्वयन गर्न सक्ने सम्भावनाप्रति आमविश्वास हो।’
उनले शेयर बजारमा देखिएको परिवर्तनलाई पुष्टि गर्ने ३ कारणहरूको व्याख्या गरेका छन् । उनका अनुसार पहिलो, नयाँ सरकारले आर्थिक स्थिरता र वृद्धिलाई प्राथमिकता दिने वाचा गरेको छ। यसले लगानीकर्ताहरूलाई आश्वस्त पारेको छ। दोस्रो, व्यवसायिक वातावरण र पूर्वाधार विकासमा सुधार गर्ने नीतिले पनि अहम् भूमिका खेलेको छ। तेश्रो, विगतमा देखिएको राजनीतिक अस्थिरताले अब स्थिरता प्राप्त गर्ने छ भन्ने आशा लगानीकर्ताहरूमा पलाएको छ।
उनले बजारको यो गति कायम राख्नका लागि सरकारले केही रणनीतिहरू भने अख्तियार गर्नु पर्ने बताएका छन् । उनले लेखेका छन् ‘पारदर्शिता सुनिश्चित गर्न र लगानीकर्ताहरूको हितको रक्षा गर्न नियमक ढाँचाहरूलाई सुदृढ बनाउनु महत्त्वपूर्ण छ। विदेशी प्रत्यक्ष लगानी (एफडीआई) प्रोत्साहित गर्न स्थिर वातावरण र साना तथा मझौला उद्योगहरू (एसएमई) लाई प्राथमिकता प्रदान गर्नाले पनि आर्थिक वृद्धिमा टेवा पुर्याउन सकिन्छ। विवेकपूर्ण राज्यकोषीय नीतिहरू मार्फत समष्टिगत आर्थिक स्थिरता कायम राख्नु र नवविचार (स्टार्टअप) तथा उद्यमशीलतालाई प्रोत्साहन दिनु पनि त्यतिकै अत्यावश्यक हुनेछ।’
अर्थतन्त्रको दीर्घकालीन वृद्धि सरकारको सशक्त र समावेशी अर्थतन्त्रको प्रवर्द्धन गर्ने नीतिहरू कार्यान्वयन गर्न सक्ने क्षमतामा निर्भर रहने उनको निष्कर्ष छ ।
Facebook Comment
Comment