भोजपुर । पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई व्यावसायिक पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । उनी व्यावसायिक बंगुरपालन र फलफूलखेती गर्दै आएका छन् ।
उद्यमी राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक बंगुरपालन, कागती, एभोकाडो, आँप, अनार, लिचीलगायत खेती गर्दै आएका छन् । बंगुर फार्मबाट उत्पादन हुने मलको सदुपयोग गर्ने लक्ष्यले बंगुरपालनसँगै फलफूलखेती गरिरहेको उनले बताए । राईको फार्ममा अहिले ४१ वटा बंगुर छन् ।
भविष्यमा बंगुरपालन तथा फलफूलखेतीबाट वार्षिक ५० देखि ६० लाख रुपैयाँसम्म कारोबार गर्ने लक्ष्यका साथ थप विस्तारमा जुटेको राईले बताए । विदेशमा सात वर्ष बिताएर फर्किएका उनले त्यहाँ सिकेको सीपलाई सदुपयोग गर्दै व्यावसायिक कृषिमा जुटेको सुनाए ।
‘वार्षिक रु १२ देखि १५ लाखसम्म कारोबार हुन्छ । त्यसबाट खर्च कटाउँदा वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी हुन्छ’, उनले भने ।
स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने राई बताउँछन् । आफ्नो फार्ममा उत्पादन भएका बंगुर खरिद गर्न ठेकेदार घरमा आउने उनले सुनाए । उनले फार्ममा स्थानीय जातसँगै उन्नत जातका हेमसार, धराने कालो बंगुरलगायत पालन गरिरहेका छन् ।
फार्ममा एक सय २० केजीदेखि एक सय ५० केजीसम्मको बंगुर छन् । ‘बंगुर बिक्रीको कुनै समस्या छैन’, उनले भने, ‘ धरान, विराटनगरबाट ठेकेदार नै आउँछन् । मागलाई धान्न धौ धौ छ । यो व्यवसायलाई अझ विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छु ।’
कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको व्यवसायी राईले बताए । उनलाई व्यवसायमा घरपरिवारले सहयोग गर्दै आएका छन् । व्यावसायिक कृषि कर्ममा लाग्ने किसानलाई राज्यले पनि आवश्यक सहयोग गर्नुपर्ने उनको धारणा छ ।
बंगुरपालन, फलफूल तथा तरकारीखेतीमा आफूले जानेको सीप अन्य किसानलाई सिकाउँदै आएको व्यवसायी राई बताउँछन् । रासस
Facebook Comment
Comment