ट्रम्पमाथि यसरी दागियो गोली, सुरक्षाकर्मीले सूचना बेवास्ता गर्दा घट्यो घटना

आक्रमणकारीलाई घटनास्थलमै मारेको दाबी

नेपालभ्युज

ट्रम्पमाथि यसरी दागियो गोली, सुरक्षाकर्मीले सूचना बेवास्ता गर्दा घट्यो घटना

काठमाडौं । अमेरिकाको शीर्ष अनुसन्धान एजेन्सी एफबीआईले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली चलाउने आक्रमणकारीको पहिचान गरेको दाबी गरेको छ ।

एफबीआईको विज्ञप्तीमा ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्ति २० वर्षीय थोमस म्याथ्यु क्रूक्स रहेको बताइएको छ । क्रूक्स बेथेल पार्क, पेन्सिलभेनियाका निवासी हुन् ।

एफबीआईको विज्ञप्तीमा भनिएको छ, ‘क्रूक्स बटलर र्‍याली स्थलबाट ७० किलोमिटर टाढा बेथेल पार्कका बासिन्दा हुन् । यो ठाउँ पेन्सिलभेनियामा पर्छ ।’

शीर्ष अनुसन्धान एजेन्सीले ट्रम्पमाथि भएको आक्रमणको विस्तृत अनुसन्धान भइरहेको बताएको छ । साथै, घटनाबारे जानकारी दिन सर्वसाधारणलाई अपिल गरिएको छ ।

अनुसन्धान एजेन्सीले भनेको छ, ‘यदि मानिसहरूसँग कुनै तस्वीर वा अनलाइन भिडियो छ भने उनीहरूले यसलाई साझा गर्न सक्छन् । आक्रमणको कारण के थियो भन्ने अझै खुल्न सकेको छैन ।’

र्‍यालीस्थल बाहिर उपस्थित प्रत्यक्षदर्शी ग्रेगले बीबीसीलाई भने, ‘गोली चलेको सुन्नुभन्दा केही मिनेटअघि मञ्चको अगाडि भवनको छतमा एकजना मानिस आफ्नो कुहिनो टेकाएर बसेको देखिएको थियो ।’

घटनाअघि ग्रेगले पुलिसलाई भनेका थिए, ‘मैले पुलिसलाई मञ्चबाहिरको एक भवनतर्फ औंल्याएँ र त्यहाँ एकजना मानिस कुहिनो टेकाएर बसिरहेको छ । उसले राइफल पनि बोकेको छ ।’

यो भवन बटलरको र्‍याली स्थलको ठीक बाहिर अवस्थित थियो ।

ग्रेग भन्छन्, ‘पुलिसले यो कुरा ट्रम्पलाई बताउँदा पनि उनले भाषण किन जारी राखे ?’ सेक्रेट सर्भिसका सुरक्षाकर्मीहरूले उनलाई मञ्चबाट किन हटाएनन् ? यो सोच्दासोच्दै गर्दा मैले पाँच पटक गोली हानेको आवाज सुनें ।’

गोली चल्नेबित्तिकै सेक्रेट सर्भिसका मानिसहरूले ट्रम्पलाई घेरेर मञ्चबाट निकाले । ट्रम्पलाई बाहिर निकाल्दा उनको अनुहारमा रगत देखिएको थियो । ट्रम्पले गोली लाग्ने बित्तिकै भने, ‘मेरो कानबाट गोली निस्कियो ।’

बन्दुकधारी मारिएको अधिकारीहरूले दाबी गरेका छन् । सेक्रेट सर्भिसका सुरक्षाकर्मीहरूले बन्दुकधारीलाई गोली हानेको ग्रेग बताउँछन् ।

‘बन्दुकधारी छतमा एम्बुसमा उपस्थित थिए’
ग्रेग र्‍याली स्थल बाहिरबाट ट्रम्पको भाषण सुनिरहेका थिए । ग्रेगले ट्रम्पको भाषण सुरु भएको पाँच मिनेटपछि बन्दुकधारीलाई देखेको दाबी गरे ।

ग्रेग भन्छन्, ‘मैले मभन्दा ५० फिट टाढा बन्दुक लिएर एक व्यक्ति नजिकैको भवनको छतमा क्रल गरिरहेको देखेको थिएँ । उसको हातमा राइफल थियो, जुन स्पष्ट देखिन्थो ।’

उनी बताउँछन्, ‘पुलिसहरू भवन मुनि घुमिरहेका थिए । हामीले छततर्फ औंल्यायौं र पुलिसलाई भन्यौं कि त्यहाँ राइफल बोकेको एक व्यक्ति छ । तर, त्यहाँ के भइरहेको छ,  त्यो पुलिसले बेवास्ता गरे ।’

ग्रेगले भने, ‘मैले कम्तिमा तीनदेखि चार मिनेट अधिकारीहरूलाई यसबारे बताउनुभएको हुनुपर्छ । तर, छानाको ढलानका कारण प्रहरीले ती व्यक्तिलाई देख्न पाएनन् ।’

ग्रेग प्रश्न गर्छन्, ‘किन सेक्रेट सर्भिसका सुरक्षाकर्मीहरू यी छतहरूमा उपस्थित थिएनन् ?’ ग्रेगलाई लाग्छ यो ठूलो ठाउँ होइन, सायद त्यही भएर यो भएको हुन सक्छ ।

ग्रेग भन्छन्, ‘सेक्रेट सर्भिसका सुरक्षाकर्मीले गोली चलाउने बन्दुकधारीलाई मारेको देखेँ ।’

उनी भन्छन्, ‘ घटनापछि सेक्रेट सर्भिसका सुरक्षाकर्मीहरू छतमा पुगे । उनीहरूको बन्दुक आक्रमणकारीतर्फ तेर्सिएको थियो । उनीहरूले आक्रमणकारीको गोली हानी हत्या गरे ।’

आक्रमणकारीलाई मारेको दाबी
सेक्रेट सर्भिसका संचार प्रमुख एन्थोनी गुग्लियानीले गोप्य सेवाका कर्मचारीहरूले गोली प्रहार गर्नेलाई मारेको दाबी गरेका छन् ।

र्‍यालीमा उपस्थित एक जनाको गोली लागेर मृत्यु भएको र दुईजना गम्भीर घाइते भएको सेक्रेट सर्भिसले जनाएको छ ।  यो घटनालाई राजनीतिक हत्याको षडयन्त्रका रूपमा लिइएको र यसतर्फ पनि अनुसन्धान भइरहेको जनाइएको छ ।

र्‍यालीका क्रममा भित्र उपस्थित अर्का एक व्यक्तिले एकपछि अर्को पाँच गोली हानेपछि मच्चिएको अराजकताबारे बताउँछन् ।

जेसन नाम गरेका व्यक्तिले बीबीसीलाई भने, ‘हामीले देख्यौं कि सीक्रेट सर्भिसका सुरक्षाकर्मीहरू तुरून्तै स्टेजमा हाम फालेर ट्रम्पलाई घेरे । भीडमा उपस्थित सबै झुके ।’

जेसनले थप भने, ‘ट्रम्प तुरून्तै उठे र तुरून्तै भीडलाई आफ्नो मुट्ठी देखाए र केहि भने…. उनको अनुहारमा रगत देखिन्थ्यो । कानबाट रगत बगिरहेको थियो ।’

पेन्सिलभेनियामा आफ्नो र्‍यालीमा गोली चलेको घटनापछि ट्रम्पले आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताएका थिए ।

हाल उनी खतराबाट बाहिर रहेका छन् । उनी सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको बताइएको छ । उनी पार्टीको सम्मेलनमा सहभागी हुन गइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved