चितवन। चितवन महोत्सव अवलोकन गर्न आएकी चितवनको गीतानगरका रामनाथ वाग्ले अल्लोबाट उत्पादित सामग्री बिक्रीको कक्षमा भेटिइन्। टोपीका सौखिन उनले दुई वटा खरिद गरिन्। अल्लोको टोपी किन्नकै लागि महोत्सव आएको वाग्ले बताए। अल्लोबाट बनेका टोपी खरिद गर्न पाइन्छ भनेर जानकारी पाएपछि उनी महोत्सव स्थलमा आएका हुन्।
यसअघि पनि वाग्लेले महोत्सवकै बेला अल्लोका दुई वटा टोपी खरिद गरेका थिए। अल्लोका सामग्री मेला महोत्सवमा मात्र किन्न पाइने उनको अनुभव छ । “अरुबेला बजारमा खोज्दा पनि भेटिँदैन”, वाग्लेले भने।
यस्तै भरतपुर–४ का देवीप्रसाद शर्मा पनि अल्लोको टोपी किन्न महोत्सवस्थल आए। वाग्ले र शर्मा जस्तै अरू धेरैले अल्लोबाट निर्मित सामान महोत्सवमै आएर किन्न पाएको बताए । सङ्खुवासभाको खाँदवारिबाट चितवन महोत्सवमा कक्ष राख्नुभएका नरेन्द्रकुमार राई अल्लोका सामग्री बेच्न भ्याई नभ्याई भएको बताउछन्। उनले टोपी, हाते झोला, पर्स तथा अल्लोका कपडा बिक्री महोत्सव अवलोकनकर्ताको रोजाइमा परेको बताए। “मेला महोत्सवकै अवसरमा अल्लोका सामान बढी बिक्री हुन्छन्”, राईले भने, “अरू बेला बिक्री न्यून हुन्छ ।” उनी चितवन महोत्सवमा पहिलो पटक आएका हुन्।
नवलपुरको गैँडाकोटबाट आएकी सुस्मिता कँडेलले स्वदेशी सामान किन्न पाइन्छ कि भनेर महोत्सवमा आएको बताइन्। “बजारमा भारतीय र चिनियाँ कपडा मात्र पाइने, स्वदेशी उत्पादन किन्न महोत्सव नै कुर्नुपर्छ”, उनले भनिन् “अरू बेला पाउनै मुस्किल हुन्छ ।”
चितवन महोत्सवमा अल्लोबाट बनेका सामग्रीका दुई वटा मात्र कक्ष छन् । दाङबाट आउनुभएकी शर्मिला पुनले पनि राईले जस्तै अल्लोबाट बनेका सामग्रीको कक्ष राखेकी छिन्। उनी यसरी बिक्री गर्न दाङबाट चितवन चौथो पटक आएकी हुन्। उनको कक्षमा पनि अल्लोबाट बनेका कोट, झोला, हाते झोला, पर्स, ढाड दुख्दा कम्मरमा बाँध्ने बेल्टलगायत सामग्री राखिएका छन् ।
Facebook Comment
Comment