जनकपुरधाम। प्रदेश २ सरकारले मधेश आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारलाई ३ लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले मधेश आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई ३ लाख रुपैयाँका दरले सहयोग प्रदान गरिने जानकारी दिए।
विभिन्न समयमा भएका मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका व्यक्तिका परिवारलाई माघ ५ गते बलिदानी दिवसको अवसर पारेर जनही ३ लाखका रुपैयाँ उपलब्ध गराउने उनले बताए। सोमबार नेपाल पत्रकार महासंघ, शाखा सप्तरीले आयोजना गरेको लोकेन्द्र स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले यस्तो घोषणा गरेका हुन्।
त्यसैगरी घाइतेलाई अवस्था हेरेर २५ हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म प्रदान गरिने उनले बताए। प्रदेश सरकारले सप्तरीको राजविराजमा बलिदानी दिवस मनाउँदै छ।
Facebook Comment
Comment