काठमाडौं । पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम आफ्नो मानहानी हुने गरी टिप्पणी गर्नेहरूविरूद्ध कानुनी उपचारमा जाने भएका छन् ।
उनले टी–२० विश्वकपका क्रममा आफूमाथि विभिन्न लगाउने युट्युबर र पूर्व क्रिकेटरहरूविरूद्ध कानुनी कारबाही गर्ने तयारी गरिरहेको पाकिस्तानी न्यूज च्यानल जियो न्युजले जनाएको छ ।
यसका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले प्रमाणहरू सङ्कलन गरिरहेको बताइएको छ ।
विश्वकपमा बाबर र पाकिस्तानी टोलीले प्रतियोगितामा आफ्नो निराशाजनक प्रदर्शन पछि कडा आलोचनाको सामना गर्नु परेको थियो । विशेषगरी आफूलाई निशाना बनाएर गरिएको यो आलोचनाले उनी निराश छन् ।
एएनआईको एक रिपोर्टका अनुसार विश्वकपको समयमा बाबरलाई बदनाम गर्ने उद्देश्यले एक समन्वित सोशल मिडिया अभियान सुरू गरिएको थियो ।
पीसीबीको कानुनी विभागले अब धेरै युट्युबर र पूर्व क्रिकेटरहरूले गरेको मानहानीपूर्ण बयानहरूको अनुसन्धान गरिरहेको छ ।
विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी पूर्वक्रिकेटर अहमद शहजादलगायत धेरै क्रिकेटरले बाबरको कप्तानीमाथि प्रश्न उठाएका छन् ।
शाहिद अफ्रिदीले बाबरले टोलीको वातावरण बिगारिरहेको आरोप लगाएका छन् । यस्तै, पूर्व बलर वासिम अक्रमले टिमको यो प्रदर्शन देखेर लज्जित भएको बताएका थिए ।
पाकिस्तान टी–२० विश्वकपको पछिल्लो सिजन उपविजेता थियो । उसले इंग्ल्याण्डसँग हार व्यहोरेको थियो । तर, यसपटक समूह चरणबाट टोली आउट भएसँगै यसका खेलाडीको सामाजिक सञ्जालदेखि सडकसम्म लगातार अपमान भइरहेको छ ।
Facebook Comment
Comment