पत्रकार महासंघले घोषणा गरेको निर्वाचनप्रति समाजवादी प्रेसको आपत्ति

नेपालभ्युज

पत्रकार महासंघले घोषणा गरेको निर्वाचनप्रति समाजवादी प्रेसको आपत्ति

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघले घोषणा गरेको निर्वाचन कार्यक्रमप्रति आपत्ति जनाएको छ ।

शनिबार एक विज्ञप्ती जारी गर्दै समाजवादी प्रेसले दुई बुँदे सहमति बेवास्ता गरिएको आरोप लगाएको छ ।

सदस्यता विवाद हल गरेरमात्रै निर्वाचन कार्यक्रम सार्वजनिक गरिनुपर्छ भन्ने बहुसंख्यक पत्रकार संगठनको मागलाई लत्याएर निर्वाचन कार्यक्रम घोषणा गरिनु आपत्तिजनक विषय भएको समाजवादी प्रेसले जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘दुई बुँदे सहमति गर्दै तालाबन्दी गर्नुपर्नाका कारणलाई हल गरिने, सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, अन्तरजिल्ला स्थानान्तरण र शुद्धीकरणका सम्बन्धमा तालाबन्दी गर्ने तीन संगठनका मागलाई सम्बोधन गरिने प्रतिबद्धता पत्रमा महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीले हस्ताक्षर गर्नुभएको थियो ।’

महासंघले प्रतिबद्धताविपरितको सदस्यता विवरणको समस्यलाई थाति राख्दै निर्वाचनलाई अगाडि बढाउन खोज्नु निन्दनीय विषय भएको समाजवादी प्रेसले जनाएको छ ।

यसअघि समाजवादी प्रेससहित प्रगतिशील पत्रकार संघ नेपाल र प्रेस मञ्च नेपालले गत जेठ १४ गते महासंघको केन्द्रीय कार्यालयसहित विभिन्न जिल्ला शाखामा तालाबन्दी गरेका थिए ।

जेठ २० गते महासंघसँगको छलफलपछि दुई पक्षबीच सहमति भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved