काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना शुभचिन्तकहरूलाई घण्टी सिंहदरबार पसेको र देशको मतपत्रमा सदाका लागि घण्टी चुनाव चिह्न बसेको भन्दै बाँकी काम आफूहरूले गर्ने बताएका छन् । उनले समर्थकहरूलाई चिन्ता नलिन र पीर नगर्न भनेका छन् ।
पार्टी स्थापना भएको दुई वर्ष पुगेको अवसरमा शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’मा एउटा पोस्ट लेख्दै उनले दुई वर्षमा आफूहरू हल्ला नै नगरी सिंहदरबार पसेको बताएका छन् ।
‘सम्झ्नुस त, देश तथा विदेशका टोलटोल बस्तीबस्तीका आम मान्छेको आवाज बोल्दाबोल्दै त्यो आवाजलाई ‘घण्टी’मा रुपान्तरण गरेर २ वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ’, उनले लेखेका छन्, ‘२१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौँ, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौँ ।’
लामिछानेले आफूहरू उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट रहेको तर्क गरेका छन् । ‘कुरा बाटोको हो । बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङ्गा खस्छ’, उनले लेखेका छन् ।
उनले कैयौँ कठिनाइहरुलाई नचिरी एउटा पार्टी स्थापित हुन नसक्ने बताएका छन् । भनेका छन्, ‘वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हाँसिल गर्दै हामी यो यात्रा सम्पन्न गर्छौँ ।’
Facebook Comment
Comment