काठमाडौं । आईसीसी टी-२० विश्वकपको समूह चरणबाट पाकिस्तान बाहिरिएको छ । टोली अहिले अमेरिकामै रहेको छ ।
यसैबीच पाकिस्तानका फास्ट बलर हरिश राउफको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भिडिओमा देखिएको अनुसार हरिश आफ्नी श्रीमतीसँग होटलबाहिर घुमिरहेका थिए । सो होटलमा केहि मानिसहरूको झुण्ड देखिन्छ ।
सोही क्रममा एक फ्यानले हरिशलाई बोलाउँछन् । उनी अन्य बेलामा फ्यानसँग धेरै घुलमिल हुने खेलाडी हुन् । तर, श्रीमतीसँग हिँडिरहेका उनी त्यसबेलामा ती फ्यानलाई बेवास्ता गर्दै अगाडि बढ्छन् ।
आफूलाई बेवास्ता गरेपछि एक फ्यानले हरिशको बुवालाई लक्षित गर्दै गालिगलौज गर्न थाल्छन् । त्यसपछि हरिश रिसले चुर हुन्छन् । र, चप्पल खोलेर फ्यानतर्फ अगाडि बढ्न खोज्छन् । तर, उनकी श्रीमतीले रोक्ने प्रयास गर्छिन् । तर, उनी फुत्किएर जान्छन्, त्यसबेलासम्म अन्य व्यक्तिहरू आएर हरिशलाई सम्हाल्ने कोसिस गर्छन् ।
भिडियोमा हरिशले ‘इन्डियन है ये’ भनेर हकारेको सुनिन्छ । तर, ती फ्यानले आफू पाकिस्तानी भएको बताउँछन् । त्यसपछि हरिशले भन्छन्, ‘तिमीलाई बाउआमाले यही सिकाएका छन् ?’
उनले उक्त घटनाप्रति सामाजिक सञ्जालमा प्रतिक्रिया पनि दिएका छन् ।
‘म यो कुरा सामाजिक सञ्जालमा ल्याउन चाहन्नँ । तर, भिडियो बाहिर आएपछि अवस्था प्रष्ट पार्नु जरूरी छ जस्तो लाग्छ । सार्वजनिक व्यक्तित्व भएकाले हामी जनताबाट सबै प्रकारका कुरा सुन्छौं । तपाईं हाम्रो आलोचना गर्नुहोस्, हामीलाई समर्थन गर्नुहोस् । तर, जब आमाबाबु र परिवारको कुरा आउँछ, म उपयुक्त जवाफ दिन हिचकिचाउने छैन ।’ उनले भने ।
उक्त घटनामा हरिशलाई अन्य खेलाडीले पनि समर्थन गरेका छन् ।
तर, सोही भिडिओलाई लिएर भारतीय सञ्चारमाध्यममा भने हरिशले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न नसकेपछि फ्यानमाथि आइलागेको भन्दै अनर्गल रूपमा प्रचार गरिरहेका छन् । नकरात्मक हेडलाइन बनाउँदै हरिशमाथि विभिन्न आरोप लगाइरहेका छन् ।
विश्वकपमा खेलिएका ४ खेलमा हरिशले ६.७३ को इकोनोमी रेटमा बलिङ गर्दै ७ विकेट लिएका थिए । उनले अमेरिकाविरूद्ध १, भारतविरूद्ध ३, क्यानडाविरूद्ध २ र आयरल्याण्डविरूद्ध १ विकेट लिएका थिए ।
समूह चरणमा ४ मध्ये २ खेल मात्रै जित्न सकेको पाकिस्तान सुपर ८ मा पुग्न असफल भएको थियो ।
Facebook Comment
Comment