काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एअरले हवाई उडानको क्रममा दिँदै आएको चकलेट बन्द गरेसँगै अर्को प्रतिस्पर्धी कम्पनी यति एअरलाइन्सले ‘जुस’ दिन थालेको छ ।
हवाई यात्रुले मुठ्ठीका मुठ्ठी चकलेट झिक्न थालेकाले आर्थिक भार बढेकाले दिन बन्द गरिएको बुद्धले बताउँदै गर्दा यति एअरले भने झनै महँगो खर्च गरेर यात्रुलाई जुस दिन थालेको हो ।
‘चुस्की लिनुहोस्, आराम गर्नुहोस्, र आकाशको आनन्द लिनुहोस्’ भन्दै यतिले जुस दिन थालेको प्रचार पनि गरिरहेको छ ।
आन्तरिक उडानमा दोस्रो बजार हिस्सा ओगट्न सफल कम्पनी यति र उसको भगिनी संस्था तारा एयरसँग गरी झन्डै डेढदर्जन जति विमान छन् ।
आन्तरिकतर्फ उडान गर्ने यति एअरले दैनिक ८० भन्दा बढी उडान भर्दै आएको छ । अहिलेको लागि यती एअरमा यात्रा गर्नेले जुस पाउने छन् । यति एअरले यसअघि चकलेट र पानी दिँदै आएको थियो ।
अब भने ‘यात्रालाई अझ आरामदायी र मनोरञ्जनमूलक बनाउन कोल्ड ड्रिङ्क्स पनि दिन थालेको’ एअरलाइन्सले जनाएको छ । हवाई यात्रामा ‘इनफ्लाईट इन्टरटेनमेन्ट’सेवा दिने यति एयर पहिलो हवाई कम्पनी हो ।
अन्तर्राष्ट्रिय यात्राको जस्तै यात्रा अनुभव आन्तरिक वायुयानमा पनि दिने यतीको प्रयास रहेको उसले बताएको छ । आउँदा दिनमा अझै यात्रुमैत्री सुविधा थप गर्दै लैजाने योजना रहेको यति एअरले जनाएको छ ।
नेपालमा सबैभन्दा बढी विमान भएको धेरै उडान भर्ने कम्पनी भने बुद्ध हो । उसले हालै चलकेट सेवा रोकेको छ ।
कम्पनीका अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले केही दिनअघि एक अन्तरवार्तामा भनेका थिए, ‘‘कम्पनी चलाउन सबैभन्दा ठुलो कुरा आर्थिक अनुशासन हुनुपर्छ । यसैले आर्थिक भार कटौती गर्नुपर्छ भन्ने नीति छ । हामीले चकलेट वितरण गरिरहेका थियौँ । तर, सुरुआत देखिनै शिष्ट व्यक्तिले पनि एक मुठ्ठी चकलेट लिन थाले । कहिलेकाहीँ प्लेन चढ्ने कतिपय यात्रुले त एक अन्जुली नै चकलेट लिने गर्न थाले । अनि हामीहरूलाई ठुलो समस्याको रुपमा आयो । कोभिडपछि फ्लाइट पनि बढ्यो । चकलेट खपत पनि बढ्यो । चकलेट लिने विषयमा यात्रुमा अनुशासन नभएपछि दसौँ करोडको खर्च बढ्यो । यसैले चकलेट दिन छाडेका हौँ ।’’
केही अघि नेपाली वायुसेवा कम्पनीबीच जहाज थप्ने होडबाजी चल्थ्यो । अहिले भने यात्रुको सुविधामा प्रतिस्पर्धा भइरहेको देखिन्छ ।
Facebook Comment
Comment