काठमाडौं । पाकिस्तान आईसीसी टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिसकेको छ ।
टोली बाहिरिएसँगै ओपनरद्वय बाबर आजम र मोहम्मद रिजवानको जोडीलाई लिएर विभिन्न प्रश्न उठेका छन् ।
पूर्वक्रिकेटर शाहिद अफ्रिदी उनीहरूको चर्को आलोचना गरिरहेका छन् । उनले स्ट्राइक रेटप्रति प्रश्न उठाएका छन् ।
तर, पाकिस्तानी क्रिकेटरबाट कमेन्टेटर बनेका रमीज राजाले राष्ट्रिय टोलीको ओपनिङ ब्याट्सम्यान बाबर र रिजवानको जोडीलाई समर्थन गरेका छन् ।
रमीजले अफ्रिदीको टी-२० इन्टरनेशनलमा बाबरको सट्टा फखर जमानले ओपनिङ गर्ने विचारमा प्रतिक्रिया दिएका छन् ।
बाबर-रिजवानको जोडीले भारतका ओपनरद्वय रोहित शर्मा-विराट कोहलीले जत्तिको स्ट्राइक रेट नदिने तर, टोलीलाई राम्नो सुरुवात दिने गरेको रमीजको भनाइ छ ।
क्रिकबजसँगको कुराकानीमा उनले बाबर र रिजवानले धेरै अवसरहरूमा पाकिस्तानलाई ठोस सुरूवात दिएको बताए ।
रमीजले भने, ‘बाबर आजम र मोहम्मद रिजवानको ओपनिङ संयोजनको आधारमा पाकिस्तानले टी-२० विश्वकप २०२२ को फाइनलमा स्थान बनाएको थियो जहाँ इङ्ल्यान्डसँग ५ विकेटले पराजित भएको थियो ।’
पाकिस्तानका पूर्व मुख्य चयनकर्ता रमीजले थप भने, ‘आफ्नो काम गरिरहेकालाई किन तोड्ने ? यो फोबिया हो । बन्द गर ।’
पाकिस्तान भारत र सहआयोजक अमेरिकासँग पराजित हुँदै सुपर-८ को दौडबाट बाहिरिएको छ ।
Facebook Comment
Comment