काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जेनेभाबाट जर्मनी पुगेका छन् । जर्मनीको औपचारिक भ्रमणका क्रममा राष्ट्रपति जेनेभाबाट बर्लिन पुगेका हुन् ।
जर्मनीका राष्ट्रपति फर्यांक वाल्टर स्टिनमेयरको निमन्त्रणामा पौडेल जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई बर्लिन ब्रान्डेनवर्ग अन्तरराष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र जर्मनीका राष्ट्रपतिको संघीय परराष्ट्र मामिला कार्यालयका वरिष्ठ अधिकारीले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलको भ्रमण दलमा पौडेल पत्नी सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा. सुरेशचन्द्र चालिसे, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रपतिको कार्यालयका सचिव डिल्लीराम शर्मा तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी छन् ।
राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भोलि औपचारिक भेटवार्ताको कार्यक्रम तय गरिएको बर्लिनस्थित नेपालको राजदूतावासले जनाएको छ ।
विसं २०४३ पछि राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीको भ्रमण पहिलो पटक हो ।
नेपाल र जर्मनीबीच विसं २०१४ साल चैत २२ गते कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । राष्ट्रपति पौडेल नेतृत्वको टोली आगामी असार ५ गते स्वदेश फर्किने कार्यतालिका छ ।
Facebook Comment
Comment