भारततर्फ दैनिक ४०० मेगावाट विद्युत् निर्यात

नेपालभ्युज

भारततर्फ दैनिक ४०० मेगावाट विद्युत् निर्यात

काठमाडौं । वर्षायामसँगै खोला तथा नदीहरूमा पानीको बहाव क्रमिक रूपमा बढेर देशभित्रका जलविद्युत्‌गृहबाट उत्पादन वृद्धि हुन थालेपछि भारतर्फ निर्यात सुरु भएको छ ।

नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ रातिबाट) भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो ।

खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, यसका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत आयोजनाहरूको उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको निर्यात सुरु गरिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रूपमा ४ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको जानकारी दिए ।

‘खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढ्दै गइरहेकाले विद्युत् उत्पादन पनि वृद्धि भइरहेको छ भने पिक समयमा आन्तरिक खपत पनि दुई हजार मेगावाट पुगेको छ, विगत ७/८ वर्षअघि दैनिक रूपमा विद्युत् खपत एक/डेढ करोड युनिटको हाराहारीमा रहेकोमा हाल बढेर ४/साढे ४ करोड युनिट पुगेको छ’, कार्यकारी घिसिङले भने ।

उनले यसअघि भने, ‘आन्तरिक माग पूरा गरी अतिरिक्त भएको एक हजारदेखि एक हजार दुई सय मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्धिपक्षीय सम्झौता बमोजिम यस वर्ष निर्यात लक्ष्य राखिएको छ, निर्यात स्वीकृतिका लागि आयोजनाहरूको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष प्रस्ताव पठाइसकेका छौं ।’

द्धिपक्षीय सम्झौता बमोजिम भारतको बिहार राज्यलाई करिब २ सय मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब ४०० हरियाणा राज्यलाई बिक्री गर्न एनटीपीसी विद्युत व्यापार निगम लि–एनभीभीएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले बताए ।

केन्द्रीय विद्युत प्राधिकरणले हालसम्म नेपालका १५ वटा जलविद्युत आयोजनाहरूबाट उत्पादित ६५६ मेगावाट विद्युत् प्रतिश्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ ।

६५६ मेगावाटबाटै मध्यकालीन विद्युत सम्झौता बमोजिम हरेक वर्ष जुन–अक्टोबरसम्म पाँच वर्षका लागि ११० मेगावाट विद्युत् एनभीभीएनलाई बिक्री गर्न स्वीकृति दिइएको छ ।

एनभीभीएनले उक्त विद्युत हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ । नेपालले विद्युत् रियल टाइम मार्केटमा बिद्युत खरिद बिक्रीको पनि अनुमति पाएको छ ।

६५६ मेगावाटमध्ये ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट ५८६ र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

घिसिङले बाराको पिलुवा सबस्टेसनबाट परवानीपुर सबस्टेसनसम्मको करिब १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तारका लागि एउटा सर्किट बन्द गरी तार (कन्डक्टर)बदल्ने काम भइरहेकाले वीरगञ्ज क्षेत्रका उद्योगहरूमा विद्युत् आपूर्तिको केही समस्या रहेको उल्लेख गरे ।

हिउँदमा १५ अर्बको विद्युत आयात
नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रूपैयाँको विद्युत् भारतबाट आयात गरेको छ ।

सुख्खायाम सुरु भएसँग खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत्‌गृहबाट उत्पादन घट्ने हुँदा माग धान्न भारतबाट आयात गरिएको हो । यस अवधिमा १ अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको छ ।

प्राधिकरणले गत वर्षको जेठदेखि यसवर्षको हालसम्म १५ अर्ब ६२ करोड रूपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१को साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रूपैयाँको विद्युत् निर्यात गरिएको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा निर्यातभन्दा १ अर्ब ७४ करोड रूपैयाँको बढी विद्युत् आयात गरेको हो । यस अवधिमा १ अर्ब ४९ करोड २९ लाख युनिट विद्युत् निर्यात गरिएको हो ।

आयात गरिएको विद्युत्को मूल्य निर्यात गरिएकोभन्दा सस्तो रहेको छ । निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य ९ रूपैयाँ २ पैसा रहेको छ भने आयातको प्रतियुनिट औसत मूल्य ८ रूपैयाँ ३८ पैसा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved