धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वास मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित भएको छ ।
बिहीबार बिहान बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र नागरिक उन्मुक्ति पार्टी(नाउपा) रेशम चौधरी पक्षका सांसद्हरूले विरोध गरेपछि बैठक स्थगित भएको हो ।
बैठकमा सरकार गठन र मुख्यमन्त्री नियुक्ती प्रक्रिया असंवैधानिक भएको भन्दै नाराबाजी भएपछि सभामुख भीमबहादुर भण्डारीले आधा घण्टाको लागि बैठक स्थगित गरिएको जानकारी गराएका हुन् ।
नाउपाका नेता घनश्याम चौधरीले असंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त भएको बताएका छन् ।
‘यसका लागि हामी अदालतसम्म पनि पुगेका छौं। अदातबाट पनि पूर्ण फैसला भएको छैन । यो सरकार खारेज हुनुपर्छ । विश्वासको मत दिने पक्षमा हामी छैनौं । प्रक्रिया नै गलत छ ।’ उनले भने।
सुदूरपश्चिम प्रदेशमा नाउपा विभाजित छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका दुई जना सांसद मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने तयारीमा छन् भने रेशम पक्षका पाँच जना सांसद् सरकारको विरोधमा उत्रिएका छन् ।
सुदूरपश्चिममा ५३ सांसद छन् । सोडारीले बहुमतको लागि २७ मत पाउनुपर्छ ।
यहाँ नेकपा एमालेका ११, माओवादी केन्द्रका सभामुखबाहेक १०, एकीकृत समाजवादीका ४, नाउपा ७ र स्वतन्त्र एक सांसद छन्।
Facebook Comment
Comment