काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज नेप्से परिसूचक बढेर हरियाली भएको छ । लगातार तेस्रो दिनसम्म बढेको सेयर बजारमा मंगलबार उल्लास छाएको हो ।
मंगलबार नेप्से सूचक २८ दशमलव ६२ अंकले बढेर २०२७ दशमलव ५१ को विन्दुमा पुगेको छ । नेप्से सूचक बढेर २००० विन्दु माथि पुगेपछि कारोबार रकम पनि बढेको छ ।
आज ३२० कम्पनीका ५९ हजार ८ सय ५६ पटकको कारोबारमा ९८ लाख ५५ हजार २८५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको भएको छ ।
आज १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन् जसमा माइक्रो फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३ दशमलव ४४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि ३ दशमलव २२ प्रतिशतले बढेको छ ।
यस दिन समाज लघुवित्त, उपकार लघुवित्त र यसनिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने जनउत्थान सामुदायिक लघुवित्तको पनि ९ दशमलव ९९ प्रतिशतले बढेको छ ।
यता हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ४ दशमलव ६४ प्रतिशतले घटेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको १ दशमलव ४६ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको १ दशमलव ३६ प्रतिशतले घटेको छ ।
मंगलबार माइक्रो फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार ट्रेडिङ्स कम्पनीहरूको भएको छ ।
Facebook Comment
Comment