दिल्लीमा कर्फ्यू लागेका बेला देउवा भारत जाँदै

दिल्लीमा आज एकैदिन ५ हजार ४ सय ८१ जनामा संक्रमण देखियो, यो आँकडा विगत ७ महीनायताकै उच्च हो।

नेपालभ्युज

दिल्लीमा कर्फ्यू लागेका बेला देउवा भारत जाँदै
फाइल तस्वीर।

काठमाडौं‌। दिल्लीमा आगामी आइतबार (२५ पुस) बाट कर्फ्यू लाग्दैछ। यही दिन प्रधानमन्त्री शेरबहादुर देउवा भारत जाँदैछन्। उनी पहिले दिल्ली जानेछन् र त्यहाँबाट गुजराततर्फ लाग्नेछन्।

२६ देखि २८ पुसमा भारतको गुजरातमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा देउवा सहभागी हुनेछन्। उनले २६ पुसमा सम्मेलनलाई सम्बोधन गर्नेछन्। यही दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग गुजरातमै भेटवार्ता गर्नेछन्।

ओमिक्रोन नियन्त्रणमा दिल्लीको ध्यान

कोभिड नियन्त्रणका लागि २७ डिसेम्बर (१२ पुस) देखि दिल्लीमा रात्रिकालीन कफ्र्यु लगाइएको थियो, जो अहिले पनि कायम छ। तर, संक्रमण नियन्त्रणमा आउनुको साटो उल्टै बढेपछि आइतबार र सोमबार दिनभर कर्फ्यू लगाउने निर्णय दिल्ली सरकारले गरेको हो।

बिदाका दिन सार्वजनिक स्थलमा हुने भीडभाड नियन्त्रणका लागि यस्तो निर्णय लिइएको दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले जानकारी दिएका छन्। मुख्यमन्त्री अरविन्द केजरीवाल आफैं कोरोनाबाट संक्रमित भएपछि आइशोलेसनमा छन्।

दिल्लीमा आज एकैदिन ५ हजार ४ सय ८१ जनामा संक्रमण देखिएको थियो, यो आँकडा विगत ७ महीनायताकै उच्च हो। संक्रमणबाटै तीनजनाको मृत्यु समेत भएको छ।

भारतमा कोरोना बढेमा प्रधानमन्त्रीको भ्रमण पनि स्थगित हुनसक्ने संकेत परराष्ट्रकै अधिकारीहरूले यसअघि गरेका थिए।

तर, अहिले परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी तीव्र रुपमा बढाएको छ। परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री देउवाको भ्रमणका समयमा उठाइने एजेन्डाबारे छलफल चलिरहेको छ।

मोदीसँग भेट्दा देउवाले सीमा समस्यालाई उठाउने स्रोतको दाबी छ। केपी शर्मा ओली प्रधानमन्त्री छँदा पनि नेपालले यो विषयमा भारतसँग वार्ता गर्न चाहेको थियो,तर भारतले इच्छा देखाएन।

त्यसो त, १० पुसमा भारतले आफ्नो क्साको दशौं संशोधन सार्वजनिक गर्दै लिम्पियाधुरा र लिपुलेकलाई नक्सामा समेटेको थियो छ। उत्तराखण्डका गर्भनर गुर्मित सिंहले केही दिनअघि मात्रै कालापानी क्षेत्रस्थित गुन्जी र नाबीको भ्रमण गर्दै त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मीसँग भेट गरेका थिए।

सीमा समस्याबारे वार्ता गर्न भारत इच्छुक छैन भन्ने पुरानै सन्देश पछिल्ला यी दुई कदमले पनि प्रवाह गरेको छ।

गुजरातमा मोदीलाई भेट्दा देउवाले यसअघि दुई देशबीच भएका सम्झौता कार्यान्वयनबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ।

सम्मेलनमा अन्य चार देशका प्रधानमन्त्री पनि

कोभिड १९ महामारी उच्च बिन्दूमा रहेका बेला विश्वका शीर्ष नेताहरूले आफ्नो भेटघाटलाई भर्चुअल माध्यमै सिमित राखेका थिए। अर्थात्, महत्वपूर्ण विषयवस्तुमा उनीहरू जुमलगायतका प्रविधिको प्रयोगमार्फत कुराकानी गर्दथें।

तर, कोरोना संक्रमण घट्न थालेसँगै नेताहरू फेरि प्रत्यक्ष भेटघाटमा जोडिन थाले।  केही समयअघि जलवायु परिवर्तन सम्मेलन कोप–२६ मा सहभागी हुन देउवा स्कटल्याण्डको ग्लासगो पुगेका थिए। त्यहाँ देउवामात्रै नभएर विश्वका धेरै देशका कार्यकारी प्रमुखहरू प्रत्यक्ष उपस्थित थिए।

नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमणका विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन। नेपाल र भारतका परराष्ट्र मन्त्रालयले यस विषयलाई एकै पटक सार्वजनिक गर्ने तयारी गरेको परराष्ट्रस्रोत बताउँछ।

भारतको गुजरात राज्य सरकारले भने देउवा सम्मेलनमा उपस्थित हुने पुष्टी गरिसकेको छ। यस कार्यक्रममा देउवामात्रै नभएर रुस, मौरिसस, स्लोभानिया र मोजाम्बिकका प्रधानमन्त्री तथा २६ देशका प्रतिनिधि सहभागी हुँदैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved