भरतपुर। माछा खरिद गर्दा ठगिएको भन्दै चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अस्मान तामाङले व्यवसायीमाथि अभद्र व्यवहार गरेका छन्। सरकारी गाडी चढेर माछा किन्न गएकी सीडीओपत्नीलाई व्यवसायीले बढी मूल्य लिएपछि सीडीओ तामाङ आक्रोशित भएका हुन्।
यस क्रममा उनले माछा बेच्ने चितवन फिस हाउसका सञ्चालक लुलाराज तामाङमाथि आइतबार दुर्व्यवहारसमेत गरेका व्यवसायीको आरोप छ।
सीडीओ तामाङले आफू ठगिएपछि व्यवसायीमाथि मुद्दासमेत चलाउने चेतावनी दिएका छन्। यसबारे माछा व्यवसायीले पनि सोमबार प्रेस विज्ञप्ति जारी गरी सीडीओले पदीय मर्यादा भुलेर व्यवसायीलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन्।
नेपाल मत्स्य व्यावसायी संघ केन्द्रीय समिति र जिल्ला समितिले सोमबार विज्ञप्ति जारी गरी सीडीओले प्रहरी प्रशासनसहित पसलमा पुगेर व्यवसायीलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको बताएको छ। सीडीओ तामाङले व्यक्तिगत स्वार्थका कारण आफूमाथि दुर्व्यवहार गरी माछा राखेको डीप फ्रिजमा तालासमेत लगाएको व्यवसायी लुलाराजले बताएका छन्।
यस्तो लुलाराजको भनाइ
मत्स्य व्यवसायीको अध्यक्षज्यूकोमा म माछा लिन गएको थिएँ। मैले मेरो पसलमा ल्याउन माछा लिन गएको थिएँ। त्यहाँ जाँदा मभन्दा अगाडी दुई तीन वटा गाडीले माछा लगेकाले मलाई पुगेन। मलाई माछा लिन ढिला भयो। मैले मलाई जसरी नि दिनुपर्छ भनें। उनीहरूले हुन्छ भने। माछा जालमा तान्दा थोरै थोरै आयो। धेरै पटक तान्नुपर्यो। यसरी धेरैपटक तान्दा माछा स्ट्रेस हुन्छ। उनीहरूले मलाई माछा पुर्याउन नसक्ने भएपछि यतिमै चित्त बुझाउनु भने। उहाँहरूले मलाई ४० किलो दिनुभयो।
धेरै पटक जाल हान्दा मेरो बाँकी माछाले दाना खाँदैन भनेर मलाई थोरै माछा दिनुभएको थियो। अन्तिम पटक जाल हान्ने बेलमा सीडीओ साबको गाडी आइपुग्यो। अन्तिम पटकको जालबाट सात किलो माछा निस्किएको थियो। सीडीओ साबको म्याडमलाई पनि तपाईंकैबाट दिनु भन्नुभो उहाँहरूले। मैले मेरै क्रेटबाट निकालेर उहाँलाई (सीडीओकी पत्नी) पाँच किलो ३ सय ग्राम माछा दिएँ। मैले सीडीओसाबको मेडम (पत्नी) लाई चिन्दिनँ थिएँ।
यो आइतबारको घटना हो। यो घटना भएको ठाउँ भरतपुरबाट २०-२२ किलोमिटर पर पर्छ। मैले माछा बेच्दा सबै जोडेर मेरो पसलमा तीन सय ८० रुपैयाँ किलोमा बेच्ने गरेको छु। मेडमलाई ३ सय रुपैयाँ किलोमा माछा बेचें। त्यसपछि मैले गाडीमा माछालाई अक्सिजन मिलाउनतिर लागें। अनि म हिँडें।
घटनाा आइतबार दिउँसो २ बजेतिर फार्ममा भएको हो।
लुलाराज फेरि थप्छन् –
माछा बेच्ने बेलामा फार्ममा मेडमसँग मेरो कुनै संवादै भएन। म त्यहाँबाट आएँ। त्यै फार्ममा अघिल्लो दिन २ सय ५० रुपैयाँ लिएको र आइतबार ३०० रुपैयाँ लिएको निहुँमा सीडीओ साबले मेरो घरमा आएर तथानाम भन्नुभयो। माछा बढीमा बेचेको रिस ममाथि सीडीओसाबले पोख्नुभयो। सीडीओसाब रन्केर गाडी लिएर आउनुभएको थियो। आइतबार सीडीओसाब, सहायक सीडीओसाब र पत्नी मेरो घरमै आउनुभयो। मैले नमस्कार गरें। तर एकैचोटि सीडीओबाले तैं साला होइनस् भन्दै बढीमा माछा बेच्ने? तँ चोर भनेर म अहिले भर्खरै कुच्याइदिन्छु। तेरो पसल म अहिले भर्खरै सिज गर्दिन्छु, तैंले चिन्या छस् ? म राज्य हुँ भन्दै मलाई थर्काउनुभयो। मलाई निकै गाह्रो भयो। मेरो दुई ओटा माछा पसल सिल गरियो।
व्यवसायीका अनुसार सीडीओ तामाङकी श्रीमती आइतबार सरकारी नम्बर प्लेटको ना१झ ४९९ नम्बरको गाडी लिएर मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीको दिव्यनगरस्थित अक्वा ब्रिडर्स नेपालमा पुगेकी थिइन्। माछा किन्न व्यवसायी लुलाराज पनि फार्ममै थिए।
पोखरीबाट निकालेको माछा बिक्री भएर सकिएपछि लुलाराजले नै सीडीओकी श्रीमतीलाई प्रतिकेजी ३०० रुपैयाँका दरले ५.३ केजी माछा बिक्री गरेका थिए। त्यसपछि बाँकी माछा लिएर लुलाराज आफ्नो पसल आएका थिए। तर बेलुकी ५ बजेपछि सीडिओ तामाङ सहायक सीडीओ र आफ्नी श्रीमतीसहित उनको पसलमा पुगेका थिए।
घटनापछि सोमबार सहायक सीडीओ चिरञ्जीवी शर्मासँगको छलफलबाट सकारात्मक परिणाम ननिस्किएको खगेन्द्र सुवेदीले बताए।
प्रतिकेजी २४० रुपैयाँ पर्ने माछालाई प्रतिकेजी ३०० रुपैयाँ लिएर लुलाराजले कालोबजारी गरेको सीडीओ तामाङको दाबी छ। “मैले पुस ९ गते पनि फार्मबाट माछा ल्याएको सात किलो। प्रतिकेजी २४० रुपैयाँमा। हिजो पनि माछा लिन गएछन्। एउटा फार्मले चाहिँ २४० मा पसलेको नाममा बिल बनायो। त्यहीँ पसलेले फेरि ३०० लिएछ। म ठगिएँ”, उनले भने।
मंगलबार दिउँसो १२ बजेतिर सीडीओ तामाङले यस घटनाप्रति थप स्पष्टीकरण दिँदै फेसबुकमा लेखेका छन् – ज्यादै दु:खकाे विषय
CDO आफैमा व्यक्ति हाेईन संस्था हाे । म ठगिएकाे उपभोक्ताकाे विषय मात्र हाे । आजकाे सञ्जाल हाहहह….
व्यवसायीले २० प्रतिशतभन्दा बढी नाफा लिएकाले कालोबजारीमा मुद्दा चलाएर कारबाही गर्ने उनले बताए। फार्मले प्रतिकेजी २४० रुपैयाँमा पसलेलाई माछा बिक्री गरेको बिल आफूसँग रहेको उनको भनाइ छ। बेलुका भने पसलेसँग माछाको बिल लिन गएको उनले बताए।
Facebook Comment
Comment