छानबिन समिति बनाए हुन्छ तर, संसद्‌मा बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने

नेपालभ्युज

छानबिन समिति बनाए हुन्छ तर, संसद्‌मा बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने
फाइल फोटो

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्‌मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताएका छन् ।

साथै उनले सहकारी प्रकरणमा ‘छानबिन समिति बनाए हुन्छ तर संसद्‌मा बोल्न पाउनुपर्ने बताए ।

शनिबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले सार्वभौम संसद्‌मा सबैले बोल्न पाउनुपर्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिए ।

“छानबिन समिति बनाए पनि हुन्छ । तर संसद्‌मा बोल्न पाउनुपर्छ ।” उनले भने,“ नेपाली कांग्रेसले संसद् र आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘यसो गर, त्यसो नगर’ भनेर आदेश दिने होइन । ”

सहकारी ठगीका मुख्य आरोपी जिबी राईलाई नियन्त्रमा लिने प्रयास भइरहेको उनले बताए ।

निजलाई पक्राउ गर्न प्रक्रियागत काम भइरहेका उनले जानकारी दिए । उनले भने, “ राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको छ ।”

उक्त देशसँग प्रत्यर्पण सन्धि नभएकाले केही समस्या भएको बताउँदै उनले त्यसलाई समाधान गरेर निजलाई चाँडै पक्राउ गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रहरीले सवारीचालक अनुमतिपत्र घोटालादेखि ठूला अनियमिततासम्मका फाइल अनुसन्धान गरिरहेको उनले बताए । उनले भने, “बालमन्दिरको जग्गाको विषय कहिलेदेखि अड्किएको थियो । अहिले २० जनालाई पक्राउ पुर्जी जारी गरिएको छ । ”

गृहमन्त्री लामिछानेले आजै कारागार व्यवस्था कार्यालयको अनुगमन पनि गरेका थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved