तेस्रो टी–२० मा नेपाल ७६ रनले पराजित, सिरिजमा वेस्ट इन्डिज ‘ए’ लाई अग्रता

नेपालभ्युज

तेस्रो टी–२० मा नेपाल ७६ रनले पराजित, सिरिजमा वेस्ट इन्डिज ‘ए’ लाई अग्रता

काठमाडौं। वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी–२० क्रिकेट सिरिज अन्तरगत तेस्रो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको छ ।

ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शन गरेको नेपाल ७६ रनले पराजित भयो । यो सँगै ५ खेलको सिरिजमा वेस्ट इन्डिजले २-१ को अग्रता बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले २२८ रनको विशाल लक्ष्य दिएको थियो । तर नेपालले पुरै ओभर समेत खेल्न सकेन ।

नेपाली टिम ४ बल अगाडि नै १५१ रन बनाएर अल आउट भयो । नेपालका लागि लोकेश बम र करण केसीले २८-२८ रन जोडे । कुशल मल्ल २०, विनोद भण्डारी १९ र अनिल साह १४ रनमा आउट भए ।

अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । वेस्ट इन्डिज ए का लागि हेडेन वाल्शले ३ विकेट लिए।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले पूरै ओभर खेलेर ३ विकेट क्षतिमा २२७ रन बनाएको थियो । उसका जोनसन चार्ल्सले अविजित ११९ रन बनाए । उनले १३ चौका र ७ छक्का प्रहार गरेका थिए। आन्द्रे फ्लेचरले ५३ रनको योगदान गरे।

सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको थियो । तर, त्यसपछि लागातार दुई खेलमा पराजित भयो । चौथो खेल बिहीबार हुनेछ।

विश्वकप टिम घोषणाको तयारीमा रहेकाले नेपालले आज केही प्रयोग गरेको थियो । कप्तान रोहित पौडेल थिएनन् भने नियमित रुपमा ओपनिङ गरिरहेका कुशल भूर्तेल र आसिफ शेखलाई पनि राखिएको थिएन ।

विनोद भण्डरी र लोकेश बमले ओपनिङ गरेका थिए । आज कुनै पनि खेलाडी चल्न नसकेकाले चयनकर्तालाई विश्वकपको टिम बनाउन केही सहज भएको छ ।

आज रातिसम्म टि-२० विश्वकपको टिम घोषणा गर्ने क्रिकेट संघ क्यानको तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved