अख्तियारद्वारा रासायनिक मल खरिदमा एक अर्ब रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर

कृषि सामग्री कम्पनीका प्रबन्धकसहित १०व्यक्ति र दुई कम्पनीविरुद्ध अभियोग

नेपालभ्युज

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध एक अर्ब रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

कम गुणस्तरको रासायनिक मल आयात गरेको आरोपमा कृषि तथा पशुपन्छी मन्त्रालयको कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णु पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पुष्करदीप बुढाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

आयात गरेको मल गुणस्तरीय रहेको भनी अध्ययन प्रतिवेदन दिने नेपाल इन्भारोमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालिका प्रबन्ध निर्देशक सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा र प्रयोगशाला परामर्शदाता भोलानाथ चौधरी र कम्पनीका तर्फबाट सम्झौता गर्ने मनोज आचार्यलाई समेत मुद्दा दायर गरेको हो।

मल आयात गर्ने जोशी बिज हाउस प्रालिका विनित जोशीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले उनीहरूमाथि गुणस्तरहीन मललाई गुणस्तरीय भनी प्रतिवेदन तयार गर्न लगाई भुक्तानी दिएको आरोप अभियोगपत्रमा उल्लेख गरेको छ। अख्तियारले उक्त कम्पनीलाई भुक्तानी भएको रकमको ९० प्रतिशत हुनेगरी भ्रष्टाचारको आरोपमा विगो कायम गरेको विज्ञप्तिमार्फत जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved