काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९, दासढुंगा र तनहुँको देवघाट गाउँपालिका–५, दासढुंगा जोड्ने पुलबाट मंगलबार एक जोडी सँगै त्रिशूली नदीमा हाम फालेका छन् ।
हाम फालेकामध्ये महिलाको उद्धार गरिएको छ । पुरुष भने बेपत्ता भएका छन् । उद्धार गरिएकी महिलाले नाम बताएकी छैनन् । नदीमा बेपत्ता भएका पुरुष भने दाङको तुलसीपुर ६ का ५१ वर्षीय खगेन्द्र डाँगी भएको खुलेको छ ।
उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । दुवैजना रा ५ प ९९४० नम्बरको मोटरसाइकलमा आएका थिए ।
पुलको बीचमा पुगेर नदीमा हाम फालेको प्रत्यक्षदर्शीले प्रहरीलाई जानकारी गराएका छन् । लगतै नदीमा पसेर उद्धार गर्दा महिला भेटिएकी थिइन् । उनको अवस्था सामान्य छ ।
उनले आफ्नो नाम, थर र ठेगाना भने बताएकी छैनन् । तर, प्रहरीले उनको साथबाट दाङको शान्तिनगर ७ ठेगाना भएको ३० वर्षकी सीता चौधरी नामको नागरिकता फेला पारेको छ ।
Facebook Comment
Comment