काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले आफ्नो पार्टी संसदलाई बन्धक बनाएर राख्ने पक्षमा नरहेको बताएका छन् ।
सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै कांग्रेसले संसद अवरुद्ध पारिरहेका बेला सांसद खतिवडाले यस्तो अभिव्यक्ति दिएका हुन् ।
ढुवानी व्यवसायी महासंघ, नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सांसद खतिवडाले कानून निर्माण गर्ने थलो संसदलाई बन्धक बनाएर, तर्साएर, थर्काएर नराखि अघि बढाउनका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अवस्था आएको समेत बताए ।
उनले समानुपातिक प्रतिनिधित्वको व्यवस्था राष्ट्रिय सभामा गरेर प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नसके मुलुकलाई स्थिर सरकार दिनसक्ने भएकाले त्यसका लागि पनि कांग्रेस र एमाले मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए ।
सांसद खतिवडाले मुलुकलाई अघि बढाउनका लागि निजी क्षेत्रको महत्वपूर्ण भुमिका हुने हुनाले त्यस क्षेत्रमा देखिएका समस्या समाधान गरेर अघि बढन आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
Facebook Comment
Comment