काठमाडौं । भारत विश्वमा सबैभन्दा बढी हतियार आयात गर्ने मुलुक बनेको छ ।
स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार पछिल्लो पाँच वर्षमा भारतले सबैभन्दा बढी हतियार खरिद गरेको छ ।
प्रतिवेदनअनुसार पाँच वर्षमा भारतको हतियार खरिद ४.७ प्रतिशतले बढेको छ ।
यता, चीनको हतियार आयात भने ४४ प्रतिशतले घटेको छ । पाकिस्तान धेरै हतियार आयात गर्ने पाँचौं ठूलो मुलुक बनेको छ ।
अर्कोतर्फ युरोपेली देशहरुको हतियार आयात सन् २०१४–१८ को तुलनामा २०१९–२३ मा झण्डै दोब्बरले बढेको छ । यसको प्रमुख कारण भने रुस–युक्रेन युद्ध हो ।
सन् २०१४-१८ को तुलनामा २०१९-२३ मा युरोपेली राष्ट्रहरूले ९४ प्रतिशत बढी हतियार आयात गरेका छन् ।
जसमा युक्रेन सबैभन्दा धेरै हतियार आयात गर्ने युरोपेली देश बनेको छ भने विश्वको चौथो ठूलो हतियार आयातकर्ताको रूपमा उभिएको छ ।
यस अवधिमा अमेरिकाको हतियार निर्यात भने १७ प्रतिशतले बढेको छ ।
यता, रुसको हतियार निर्यातमा ठूलो गिरावट आएको छ । पहिलो पटक रुस हतियार निर्यातमा तेस्रो स्थानमा झरेको छ ।
सन् २०१४-१८ र २०१९-२३ को बीचमा रुसको हतियार निर्यात ५३ प्रतिशतले घटेको छ। सन् २०१९ मा ३१ देशलाई हतियार बेचेको थियो भने २०२३ मा १२ देशले मात्रै रुसबाट हतियार किनेका छन् ।
Facebook Comment
Comment