काठमाडौं। नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको बढेको ब्याजदर तत्काल फिर्ता लिन माग गरेको छ।
महासंघका अध्यक्ष नरेश कटुवालले शुक्रबार एक विज्ञप्ति जारी गरी बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता) को बहानामा ऋणको ब्याजदर अचाक्ली बढाएको भन्दै उक्त ब्याजदर तत्काल फिर्ता लिन माग गरेका हुन्। “बैंकको पछिल्लो काम कारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको छ”, अध्यक्ष कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनःबैंकको ब्याजदरका कारण समस्या खेपिरहेको कटुवालले बताए। उद्योग व्यवसाय गर्नेले अहिले बैंकबाट सहज तरिकाले ऋण पाउन सक्ने अवस्था नभएको उनको भनाइ छ।
पछिल्लो समय बैंकले तरलता अभावका बहानामा उद्योगी व्यवसायीलाई ऋण अड्काउने, मनपरी ढंगले ब्याजदर बढाउनेलगायत भइरहेका गतिविधिप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
Facebook Comment
Comment