काठमाडौं । वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दैछ ।
साउदी अरबको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा राति पौने ८ बजे राष्ट्रिय महिला फुटबल टोलीले प्यालेस्टाइनसँग खेल्न लागेको हो ।
आजको खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ । पहिलो पटक वाफ खेलिरहेको नेपाललाई उपाधि दाबेदारको रुपमा हेरिएको छ ।
नेपालले समूह चरणको पहिलो खेलमा सिरियालाई ४–१ ले हराएको थियो । दोस्रो खेलमा भने इराकमाथि ५–० को फराकिलो जित दर्ता गरेको थियो ।
इराकमाथि जित निकाल्ने क्रममा सबै गोल सावित्रा भण्डारी साम्बाले गरेकी थिइन् । च्याम्पियनसिपमा उनले २ खेलमा ६ गोल गरिसकेकी छिन् ।
अंक तालिकामा समान ६ अंक भएपनि गोल अन्तरमा नेपाल शीर्ष स्थानमा छ भने प्यालेस्टाइन दोस्रो स्थानमा छ । लगातार दुई खेलमा हार भोगेका सिरिया तेस्रो र इराक चौथो स्थानमा छ ।
Facebook Comment
Comment