पुन: एक ठाउँमा आउँदै महन्थ-हृदयेश

राजपा बन्नुअघि उनीहरू तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा महन्थ अध्यक्ष र हृदयेश सहअध्यक्ष थिए ।

नेपालभ्युज

पुन: एक ठाउँमा आउँदै महन्थ-हृदयेश

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा) बीच कार्यगत एकता हुने भएको छ ।

२०७४ सालको निर्वाचनअघि छुट्टिएका महन्थ-हृदयेश ६ वर्षपछि पुन: एक ठाउँमा आउन लागेका हुन् । सुरूमा कार्यगत एकता गरेर पछि पार्टी एकताको कोर्षमा प्रवेश गर्ने लोसपा प्रवक्ता डा. आभास लाभले नेपालभ्युजलाई बताए ।

“कार्यगत एकता केही हप्ताभित्रै गर्छौँ । त्यसका लागि छलफल जारी छ । दुई पार्टीका नेताहरूबीच बारम्बार छलफल भइरहेका छन्,” प्रवक्ता लाभले भने, “सुरूमा कार्यगत एकता गर्दै पार्टी एकतासम्म पुग्ने हाम्रो उद्देश्य हो ।”

जप्रपा अध्यक्ष हृदयेश भने कार्यगत एकताका लागि प्रारम्भिक वार्ता भइरहेको तर, पार्टी एकतासम्म जान नसकिने बताउँछन् । “कार्यगत सहकार्य गर्ने भनेर प्रारम्भिक वार्ता भइरहेको छ । तर, पार्टी एकतासम्मै पुग्नचाहिँ सकिँदैन,” उनले भने ।

लोसपा नेताहरूले पार्टी एकतासम्मै पुग्ने कुरा गर्छन् नि ? भन्ने जिज्ञासामा उनको जवाफ छ, “उहाँहरूले भन्ने कुरा एउटा हो । तर, हाम्रो तर्फबाट त म आधिकारिक हो नि । मैले भनेको कुरा मान्नुस् न । जे होस् प्रारम्भिक वार्ता भइरहेकै हुन् तर, सिर्फ कार्यगत सहकार्यका लागि हो ।”

२०७४ सालमा तत्कालीन तराई/मधेसकेन्द्रित ६ दलहरूबीच एकीकरण भइ राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएको थियो, त्यसबखत हृदयेशले एकीकृत पार्टीको अध्यक्ष मण्डलको सदस्य बन्ने चाहना राखेका थिए । तर, महन्थ मानेनन् ।

यसपछि २०७४ को निर्वाचनअघि उनले तत्कालीन राजपा छाडे । यसपछि २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा उनले नेकपा (एमाले) को चिह्न लिएर चुनाव जितेर मन्त्रीसमेत बने ।

पछिल्लो संसदीय निर्वाचनमा भने उनले जप्रपा गठन गरे । जप्रपा अहिले निष्क्रिय अवस्थामा छ । २०७९ को निर्वाचनमा जप्रपा-उम्मेदवारले कहीँ पनि जित निकाल्न सकेनन् ।

छुट्टिनुअघि महन्थ-हृदयेशबीच लामो समययता राजनीतिक सहकार्य थियो । राजपा बन्नुअघि उनीहरू तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा महन्थ अध्यक्ष र हृदयेश सहअध्यक्ष थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved