काठमाडौं । चीन भ्रमणबाट फर्किएको संसदीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चिनियाँहरूलाई लगानीको वातावरण बनाउन सुझाव दिएको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रतिवेदन प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गर्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे नेतृत्वको टोलीले यस्तो सुझाव दिएको हो ।
प्रतिवदेनमा भनिएको छ, “चिनियाँहरूलाई लगानीको वातावरण निर्माण गर्नुपर्ने देखिन्छ भने चिनियाँ पर्यटकहरूलाई आकर्षण गर्ने कार्यक्रमहरू ल्याउनुपर्ने देखिन्छ ।”
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले आगामी वर्षको नीति तथा कार्यक्रममा सुझावहरूलाई समेट्ने प्रतिबद्धता जनाएका छन् ।
“औपचारिक भ्रमणबाट तपाईंहरूले दिनुभएका सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने प्रयास गर्नेछौँ । भ्रमणमा सिकेका कुरा नेपालमा पनि कार्यान्वयनमा लैजानुपर्छ भन्ने भ्रमण टोलीको सुझावप्रति सकारात्मक छु,” टोलीको प्रतिवदेन बुझ्दै उनले भनेका छन् ।
चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआईबीओ) को निमन्त्रणमा नेपाली सांसदहरूको टोलीले पुस २ गतेदेखि १४ गतेसम्म चीन भ्रमण गरेको थियो ।
‘नेपालका सांसदहरूका लागि कार्यशाला’ कार्यक्रममा प्रतिनिधि सभाका १४, राष्ट्रिय सभाका ३ र संघीय संसद् सचिवालयका सचिव सुदर्शन खड्कासमेत ३ जना अधिकृतहरूले सहभागी भएका थिए ।
भ्रमण टोलीका नेता पाण्डेले लिखित प्रतिवेदन सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सङ्घीय संसद् सचिवालय र नेपाल सरकारलाई बुझाएर कार्यान्वयनका लागि आग्रह गरिएको बताएका छन् ।
“प्रतिवेदनमा नेपाल सरकारबाट कार्यान्वयन गरिनुपर्ने सुझावहरूसमेत प्रस्तुत गरिएकाले हाम्रो भ्रमण टोलीको तर्फबाट उक्त सुझावहरू यथासम्भव कार्यान्वयनका लागि सादर अनुरोध गर्दछौँ,” उनले भने ।
सरकारलाई टोलीले दिएको सुझावहरू:—
– जनताकेन्द्रित विकासको मोडलले नै विकास र समृद्धि ल्याउने देखिन्छ ।
– नीतिगत निरन्तरता आवश्यक हुने देखिन्छ ।
– दुई देशबीच भएका विगतका समझदारीहरूलाई इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।
– विकासका लागि भूमिमाथि राज्यको अधिकार बलियो हुनुपर्ने देखिन्छ ।
– चिनियाँहरूलाई लगानीको वातावरण निर्माण गर्नुपर्ने देखिन्छ ।
– चिनियाँ पर्यटकलाई आकर्षण गर्ने कार्यक्रमहरू ल्याउनुपर्ने देखिन्छ ।
– गरिबी निवारणमा चीनले प्राप्त गरेको सफलताबाट नेपालले पाठ सिकी ग्रामीण वस्तीहरूलाई सडक सञ्जालले जोड्ने, किसानहरूलाई मल, बिउ, उपकरण उपलब्ध गराउने, पर्यटकीय सम्भावना भएका गाउँहरूको विकास गर्ने, नयाँ गाँउहरूको विकास गर्ने, सूचना प्रविधि र अन्य सुविधाहरू उपलब्ध गराउने कार्य गर्नुपर्दछ ।
– विकास र वातावरणलाई सँगसँगै लैजानु पर्दछ ।
– भ्रमण कार्यक्रमबारे समयमा नै सम्बन्धित पक्षले संसद् सचिवालयलाई जानकारी गराउनु पर्दछ र भ्रमणको पूर्वतयारी राम्ररी गरेरमात्र भ्रमण कार्यक्रम तय हुनुपर्दछ ।
– भ्रमण पूर्व सम्बन्धित मुलुकका विविध पक्षबारे जानकारी गराउने प्रि-विफिङ्ग कार्यक्रम गरिनु पर्दछ ।
– भ्रमणलाई संस्थागत गर्नुपर्दछ ।
– चीनसँगका सीमा नाकाहरू खोल्ने, व्यवस्थित गर्न जोड दिनुपर्दछ ।
– चीनस्थित नेपाली राजदूतावासको भवन बनाउन आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।
– चीन भ्रमण र अनुभव आदान प्रदानका लागि संस्थागतरूपमा नै सङ्घ, प्रदेश तथा स्थानीय तहलाई पनि समेट्नुपर्दछ ।
Facebook Comment
Comment