चिरफारबिनै न्यूरो अस्पतालले गर्‍यो ३ सय ‘न्यूरो सर्जरी’

नेपालभ्युज

चिरफारबिनै न्यूरो अस्पतालले गर्‍यो ३ सय ‘न्यूरो सर्जरी’

काठमाडौं। विभिन्न कारणले रक्तनलीमा रगत बहन रोकिँदा मस्तिष्कघात हुनसक्छ। यस्तो समस्यामा शल्यक्रिया गरिने गरेकोमा पछिल्लो समयमा नयाँ प्रविधिले चिरफारबिना उपचार सम्भव भएको छ।

बाँसबारीस्थित न्यूरो अस्पतालले २ वर्षदेखि यस्तो नयाँ प्रविधिबाट उपचार गरिरहेको छ, त्यो प्रविधि हो – न्यूरोइन्टरभेन्सन। न्यूरोइन्टरभेन्सनबाट अस्पतालले हालसम्म ३ सय बिरामीको सफल उपचार गरेको नेपालकै पहिलो डीएम न्यूरो इन्टरभेन्सनिस्ट चिकित्सक डा. सुवास फुँयालले बताए।

डा. उपेन्द्र देवकोटाको जन्म जयन्तीको अवसरमा अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “अस्पतालले हालसम्म प्रविधिबाट सूक्ष्म रक्तनलीभित्रका समस्या (मस्तिष्कघात, पक्षघात,रक्तनलीको फुकुण्डो)का सवै शल्यक्रियामा सफलता हासिल गरेको छ।” मस्तिष्कको नसासम्बन्धी जटिल किसिमको शल्यक्रिया प्रविधिबाट गर्दा जीवनभर पक्षघात भएर बस्नुपर्ने अवस्थामा पुग्न सक्ने धेरै बिरामीले राहत पाएको उनले बताए।

‘‘शल्यक्रियाबिना हात वा खुट्टाको नसाबाट तार (क्याथेटर) छिराएर मस्तिष्कको नसा बन्द भएकोलाई खुलाउने प्रविधि न्यूरो इन्टरभेन्सन सर्जरी हो”,उनले भने, ‘‘हृदयघात हुँदा दुख्छ तर मस्तिष्कघात भएर प्यारालाइसिस हुँदा समेत नदुख्ने कारण बिरामीहरू अस्पताल ढिलो आउने गर्छन्।”

अचानक मुख बांगिनु,बोली लर्बराउनु,बोल्न नसक्नु र हातखुट्टा चल्न छाड्नु मस्तिष्कघातका लक्षण हुन्। यस्ता लक्षण देखिएको २४ घण्टाभित्र न्यूरो इन्टरभेन्सन सेवा भएका अस्पतालमा बिरामीलाइ पुर्‍याउन सके अपाङ्ग र मृत्यु हुने दुवै सम्भावनाबाट बचाउन सकिने उनी बताउँछन्।

सन् २०१४ र १५ मा भारतमा कार्यरत हुँदा मस्तिष्कघात भएर हिँड्न नसक्ने अवस्थामा आएका धेरै बिरामीले उपचार पाएपछि पूर्ण निको भएर घर फर्किएको स्मरण गर्दै उनले भने,  ‘‘न्यूरोइन्टरभेन्सन पद्धतिबाट सानो तारको सहायताले बन्द नसा खोलिन्छ, त्यो खोलेपछि प्यारालाइसिसको जोखिम कम हुन्छ।”

मस्तिष्कघातको जोखिम ५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप भएका, धुमपान र मद्यपान गर्ने, मधुमेह भएका, उच्च कोलेस्ट्रोल भएका र तनावपूर्ण जीवनशैली जिउने व्यक्तिलाई बढी हुने न्यूरो सर्जन डा. शिखर श्रेष्ठले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved