धनगढी। बागेश्वरी असल शासन क्लब (बास) ले धनगढीको तारानगमा रहेको आमाको माया छात्रावासमा आर्थिक सहयोग हस्तान्तरण गरेको छ। धनगढी उप–महानगरपालिकाका नगरस्तरीय बाल क्लबका ३० जना बालबालिकाहरुले संकलन गरेको रकम आमाको माया छात्रावासलाई हस्तान्तरण गरिएको हो।
शनिबार बालबालिकाहरूले संकलन गरेको दुई हजार चार सय ४५ रुपियाँ बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले छात्रावासलाई हस्तान्तरण गरेका हुन् । विपन्न परिवार र अभिभावक विहीन २९ जना बालबालिका अहिले आमाको माया छात्रावासमा अध्ययनरत रहेका छन्। स्थानीय व्यक्ति तथा सहयोगी दाताहरूको सहयोगमा छात्रावास सञ्चालनमा हुँदै आएको छ।
बास नेपालको आयोजना तथा युनिसेफ नेपालको सहयोग, धनगढी उप–महानगरपालिकाको सहकार्यमा ३० जना बालबालिका तथा युवाहरूका लागि क्षमता अभिवृद्धि तालिम धनगढीमा सञ्चालन भइरहेको छ। तालिममा सहभागी बालबालिका तथा युवाहरूले आर्थिक संकलन गरेका थिए।
तालिममा सहभागी बालबालिकाहरूले आफ्नो खाजा खर्च बचाएर छात्रावासलाई आर्थिक सहयोग गरेको बासका केन्द्रीय अध्यक्ष सिटौलाले बताए। तालिममा सहभागीहरूलाई सहयोगी भावनाको विकास गर्न बालबालिकाहरूलाई छात्रावासमा सहयोग आग्रह गरिएको समेत बताए।
सहयोग हस्तान्तरण कार्यक्रममा बासका कार्यक्रम संयोजक हेमराज भट्ट, बास कैलालीका अध्यक्ष पाण्डव पुजारालगायत तालिममा सहभागी बालबालिकाहरूको सहभागिता रहेको थियो।
Facebook Comment
Comment