ढाका । स्कुलको पाठ्यपुस्तकहरूमा ट्रान्सजेन्डर व्यक्तिको मान्यता हटाउने मागसहित पछिल्लो विरोध प्रदर्शनमा शुक्रबारको नमाजपछि आयोजित एक इस्लामिक जुलुसमा बङ्गलादेशको राजधानीमा हजारौँ मानिस भेला भएका छन् ।
बङ्गलादेशमा ट्रान्सजेन्डर महिलाहरू बढ्दो कानूनी मान्यताको लाभार्थी भएका छन् । उनीहरूलाई आधिकारिकरूपमा तेस्रो लिङ्गका रूपमा मान्यता दिइएको छ । गत वर्ष पाठ्यक्रम परिमार्जनमा स्कुलका पाठ्यपुस्तकहरूमा ट्रान्सजेन्डर महिलाहरूको पहिचानलाई समावेश गरिएको थियो ।
सामाजिक विज्ञानको एक पुस्तकले शरिफ नामको एक केटाको कथा बताउँछ । उसले लिङ्ग परिवर्तन गरेर महिलाको नाम शरिफा राख्छ र अन्य ट्रान्सजेन्डर व्यक्तिहरूसँग बस्न जान्छ ।
स्थानीय प्रहरी अधिकारी जाकिर हुसेनले मध्य ढाकामा राष्ट्रिय मस्जिदबाहिर परिवर्तन विरुद्ध र्यालीमा पाँच हजारभन्दा बढी मानिस सहभागी भएको बताए । उक्त र्यालीको आयोजना बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामी पार्टीले गरेको थियो ।
“हामी शरिफलाई शरिफा बन्न दिनेछैनौँ”, प्रदर्शनकारीहरूले नारा लगाएका थिए । उनीहरूले बङ्गलादेशको ठूलो ट्रान्सजेन्डर समुदायलाई मुस्लिम बहुल मुलुक छाड्न माग गर्दैसमेत नारा लगाएका थिए ।
ढाकाको एक प्रमुख विश्वविद्यालयका सयौँ छात्रहरूले यसै साता पाठ्यक्रममा समावेश गरिएको ट्रान्सजेन्डर सामग्रीको निन्दा गरेकामा लेक्चरर आसिफ महताब उत्सालाई बर्खास्त गरेकामा विरोध गरेका थिए ।
हिजडाहरू पूरै दक्षिण एसियामा ट्रान्सजेन्डर महिलाका रूपमा चिनिन्छन् । कानूनी मान्यताको विस्तारसँगै बङ्गलादेशी समाजामा यिनीहरू बढ्दोरूपमा देखिन थालेका छन् । कयौँले बङ्गलादेशी राजनीतिमा प्रवेश गरेका छन् । सन् २०२१ मा मुलुकमा पहिलोपटक एक ट्रान्सजेन्डर महिला कुनै ग्रामीण सहरको मेयर बनिन् ।
यद्यपि एलजिबिटिक्यु समुदायले अहिले पनि बङ्गलादेशमा व्यापक भेदभावको सामना गर्नुपरेको छ । समलिङ्गी यौन सम्बन्धहरूलाई कारागार सजाय दिनका लागि औपनिवेशिक युगको कानून बनेको भए पनि कार्यान्वयन दुर्लभ छ ।
Facebook Comment
Comment