भ्रष्टाचारविरुद्ध महासन्धिमा राईले भने : यसको खतराप्रति नेपाल चिन्तित छ

नेपालभ्युज

भ्रष्टाचारविरुद्ध महासन्धिमा राईले भने : यसको खतराप्रति नेपाल चिन्तित छ

काठमाडौं । इजिप्टको शाम एल सेइख शहरमा आजसम्म हुने भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको नवौँ सम्मेलनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त श्री प्रेमकुमार राईले नेपालको तर्फबाट कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो मन्तव्य प्रस्तुत गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै राईले भ्रष्टाचारले समाजको स्थायित्व र सुरक्षामा निम्त्याउने चुनौती र खतराप्रति नेपाल चिन्तित रहेको बताए। भ्रष्टाचारले दिगो विकास र विधिको शासनलाई पनि खतरामा पार्ने कुरा ‍औँल्याउँदै उनले भ्रष्टाचार सबै देशको शत्रु रहेको तर विकासोन्मुख देशका लागि यो अझ बढी घातक भएको बताए। भ्रष्टाचारले असमानता र अन्यायलाई स्थान दिई विकासोन्मुख राष्ट्रले प्राप्त गर्ने वैदेशिक सहायता र लगानीलाई निरुत्साहित गर्दै गरिबी न्यूनीकरण र विकासमा समेत ठूलो असर पुर्‍याएको विचार व्यक्त गरे।

कार्यक्रममा राईले भ्रष्टाचार अब स्थानीय समस्या मात्र नभई एक अन्तर्राष्ट्रिय समस्या रहेको र यसले समाज र अर्थतन्त्रमा प्रतिकूल असर पारेको हुँदा यसको रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता, समन्वय र सहयोग आवश्यक रहेको बताए।

भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कानुनी रूपमा बाध्यकारी भ्रष्टाचारविरोधी औजार विकासका लागि एक अद्वितीय उपकरण रहेको उनले उल्लेख गरे।

नेपालद्वारा गरिएको महासन्धिको कार्यान्वयन सम्बन्धमा समीक्षा गर्ने गरी सन् २०२२ को जनवरीमा तय गरिएको UNCAC को नेपाल समीक्षा कार्यक्रममा नेपालको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै राईले कार्यक्रम सफलताको शुभकामना र सम्मेलनको उत्कृष्ट व्यवस्थापन तथा आतिथ्यको लागि इजिप्ट सरकारलाई धन्यवाद ज्ञापनसमे गरे।

इजिष्टमा सञ्चालन भइरहेको भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको नवौँ सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलमा आयोगका सचिव श्री तोयम राया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव श्री धनराज ज्ञवाली तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव श्री कोशल चन्द्र सुवेदी समेतको उपस्थिति छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved