साहुको ऋण तिर्न नसक्दा सिंगो गाउँ समस्यामा

साहुको ऋण तिर्न नसक्दा सिंगो गाउँ समस्यामा

जाजरकोट। जाजरकोटको भेरी नगरपालिका–११ कटीगाउँका १५८ दलित समुदायका घरपरिवार कोही विस्थापित भएका छन्, कोही ऋण तिर्न नसकेर साहुको हैरानी ब्यहोरिरहेका छन्। बाजेको पालादेखि लिएको ऋण नातिले समेत भुक्तान गर्न नसकेपछि गाउँका अधिकांश दलित समुदाय विस्थापित भएका छन्।

यहाँका अधिकांश युवाहरु पैसा कमाउनका लागि भारत जाने गरेका छन्।  ‘‘भारतबाट जति कमाएर ल्याए पनि साहुको ऋण तिर्न नै पुग्दैन, अधिकांश गाउँलेका जग्गासमेत साहुले लिइसकेको छ,’’ वडा सदस्य नन्दबहादुर विकले भने। साहुको ऋण तिर्नका लागि भारत पुगेका धर्मबहादुर वरले भने, “ऋण तिर्न परिवारसहित भारत आएको छु, दुई वर्ष भइसक्यो। तर जति दिए पनि कहिल्यै ऋणले छाड्दैन।”

अर्का पीडित गोब्लो लुहारले पनि दुई वर्ष पहिला घरजग्गा साहुलाई दिएर गाउँ छोडी कोठियाघाट पुगेको टेलिफोनमार्फत बताए। छ जनाको परिवारसहित कटीगाउँ छाडेका गोब्लो बर्दिया कोठियाघाटको ऐलानी जग्गा खनेर बसोबास गरिरहेका छन्।

ऋण तिर्न नसकेपछि स्थानीय वीरमान विकको परिवार पनि एक वर्षदेखि विस्थापित जीवन बिताउन बाध्य छ। साहुको ऋण तिर्न नसकेर गाउँ छाड्न बाध्य भएका यी त प्रतिनिधि पात्र मात्र हुन्।

‘‘कटीगाउँका १५८ घरधुरीका दलित समुदायमध्ये सबैले पाँच लाख रुपैयाँदेखि आठ लाखसम्मको ऋण साहुसँग लिएका छन्,’’ वडा सदस्य विकले भने। । हालसम्म कटीगाउँबाट सरकारी जागिर खानेहरूमध्येका दीपक विक मात्र एक जना हुन् । विसं २०५९\६० तिर नेपाली सेनाको जवानमा भर्ती भएका दीपकले जागिर खाएपछि भेरी नगरपालिका–१३ कुदुमा घरजग्गा किनेर बसाइँसराइ गरिसकेका छन्।

किन डुबे ऋणमा ?
आफ्नो खेतबारीमा उत्पादन भएको अन्नले वर्षमा छ महिना पुग्दैन । त्यहाँका बासिन्दाले स्थानीय साहुसँग उधारो खाद्यान्न लिएर खाने गरेका छन्। गाउँमा राम्रो उत्पादन नहुने, रोजगारी अभावका कारण त्यहाँका अधिकांश पुरुष कमाई गर्न भारतलगायत अन्य देशमा जाने गरेका छन्।

“श्रीमान् कमाई गर्न भारत जानुहुन्छ, हामी यही बस्छौँ, स्थानीय साहुबाट चामललगायत अन्य खाद्यान्न ल्याएर खाने गरेका छौँ”, स्थानीय पवित्रा वरले भनिन्,‘‘हामी पसलबाट ल्याउँदै गर्छौँ, साहुको डायरीमा बढ्दै जान्छ, चाडपर्वका लागि श्रीमान् भारतबाट आउनुहुन्छ पैसा तिर्नुहुन्छ, थौर बाँकी रहन्छ, फेरि अर्को साल उत्तिकै हुने गरेको छ।’’

स्थानीय साहु इन्द्रलाल आचार्य र यदुकुमार आचार्यले खाद्यान्नको ब्याजसमेत जोडेर त्यहाँका मानिसलाई ऋणमा डुबाएको एक स्थानीयवासीले नाम नखुलाउने शर्तमा बताए। उनले दिएको जानकारी अनुसार कटीगाउँका अधिकांश नागरिक पढेलेखेका छैनन्, जति भने पनि तिरिदिन्छन् भन्ने साहुको मानसिकताका कारण खाद्यान्नमा कानुनविपरीत ब्याजसमेत जोड्ने गरेका छन्।

दर्जन परिवार विस्थापित

साहुबाट लिएको ऋण तिर्न नसकेर भेरी नगरपालिका–११ कटीगाउँका दर्जन दलित समुदाय विस्थापित भएका छन्। यहाँका १५८ घरधुरी भएको कटीगाउँका दलित समुदायले दैनिक जनजीविका चलाउनका लागि लिएको ऋण तिर्न नसक्दा भारतमा विस्थापित हुनुपरेको हो।

आफ्नो खेतबारीमा उत्पादन भएको अन्नले तीन महिना खाना नपुग्ने कटीगाउँका दलित समुदाय साहुबाट ऋण लिएर दैनिक गुजारा चलाउँदै आएका छन्। यसरी लिएको ऋण तिर्न नसक्दा केही दलित समुदायका स्थानीयवासी विस्थापित हुनुपरेको स्थानीयवासी नरबहादुर विकले बताए। स्थानीय जनज्योति आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने दलबहादुरका छोरा पारस विक भारतमा काम गरिरहेका छन्।

साहुको ऋण तिर्ने अवस्था भएमा मात्र गाउँमा आउने उनको भनाइ छ । यस समुदायका अधिकांश बालबालिका कक्षा ३ मा पढेर विद्यालय छाड्ने गरेका छन्। आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय निरन्तरता दिन नसकेको उनीहरू बताउँछन्।

कटीगाउँका वीरमान विक, धर्मबहादुर विक, केशव विक, कर्णबहादुर विकलगायत  स्थानीयवासी साहुको ऋण तिर्न नसकेपछि जग्गा उनीहरुलाई नै पास गरिदिएर भारत बिस्थापित भएका छन्।

२५ घरधुरी अतिविपन्न

कटीगाउँका १५८ घरधुरीमध्ये २५ घरधुरी अतिविपन्न रहेको एक तथ्याङ्कले देखाएको छ । भेरी नगरपालिकाको समन्वय, रिसर्च इनपावरमेन्ट (काठमाडौं) र नेप्सकोन सुर्खेतको सहजीकरणमा गरिएको सर्वेक्षणले यस्तो देखाएको हो।

सर्वेक्षणअनुसार ३१ घरधुरी विपन्न, ३५ घरधुरी एक वर्ष काम गरी पाँच\छ महिना खान पुग्ने, ५१ घरधुरी तीन महिनासम्म खाना पुग्ने सर्वेक्षणले देखाएको नेप्सकोन सुर्खेतद्वारा सञ्चालित दलित महिला तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चितताका लागि स्थानीय शासन सुदृढीकरण कार्यक्रममा कार्यरत अमृत विकले जानकारी दिए।

स्थानीय सरकारको पुग्दैन नजर
देश सङ्घीयतामा गएसँगै गाउँगाउँमा सिंहदरबार आए। काठमाडौँको सिंहदरबार गाउँमा आएको नारा लागे तर कटीगाउँबासीका लागि भने यो नाराले सार्थकता पाएको छैन।

सिङ्गो गाउँ नै ऋणमा डुबेको छ, स्थानीय सरकारका कुनै कार्यक्रम कटीगाउँवासीका लागि केन्द्रित छैनन्। भेरी नगरपालिकाले कटीगाउँवासीका लागि कुनै कार्यक्रम नल्याएको स्थानीय नरबहादुर विकले गुनासो गरे।

उनले भने, “नगरपालिकाले हाम्रो गाउँलक्षित कुनै कार्यक्रम ल्याएको छैन, गाउँका बासिन्दा सबै ऋणमा डुबेको पटक–पटक जानकारी गरायौँ, खासै चासोका रूपमा लिएको देखिँदैन”, “हाम्रो गाउँमा क्षमताअनुसारको रोजगारी व्यवस्था गरेको भए हामीलाई सहज हुने थियो ।” गत आर्थिक वर्ष २०७७÷७८ मा नगरपालिकाले कटीगाउँबासीका लागि रु १३ लाख रकम विनियोजन गरी सुधारिएको चुलो वितरण गरेको थियो।

कटीगाउँका दुई÷चार जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिदिएको भए भोलिका पुस्ताले राम्रोसँग जिउन सक्ने थिए स्थानीय रामबहादुर विकले बताए। यता नगरपालिकाले थालेको छुवाछूतमुक्त नगर घोषणा कार्यक्रममा रु ४४ लाख विनियोजन गरेको छ ।

पुसको तेस्रो सातादेखि उक्त अभियान सञ्चालन गरिने नगरपालिकामा कार्यरत अधिकृत अनिश शाहले बताए। “कटीगाउँजबासीका लागि चुलो वितरण, जातीय छुवाछूत मुक्त नगरपालिका घोषणाका कार्यक्रम गरेको छ”, उनले भने।

नगरपालिकाका नगरप्रमुख चन्दप्रकाश घर्तीले नगरपालिकाका १३ वटै वडाका दलित समुदायका लागि समग्र सूचकमा आधारित काम गर्ने योजना रहेको बताए। यस योजनामा कटीगाउँ पनि समावेश रहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved