‘ब्यूरोकेसीको भर नै नपर्नुस्, मुलुक कस्तो बनाउने सपना राजनीतिज्ञमा नै हुनुपर्छ’

नेपालभ्युज

‘ब्यूरोकेसीको भर नै नपर्नुस्, मुलुक कस्तो बनाउने सपना राजनीतिज्ञमा नै हुनुपर्छ’

काठमाडौं। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट किताबमा शब्द हालेर छानिरहेका आरोप लगाएकी छन्।

बिहीबार विकास तथा प्रविधि समितिमा मन्त्री झाँक्रीले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनले निर्दिष्ट गरेका व्यवस्था धेरैले पालना नगरेका बताइन्। मुलुक कस्तो बनाउने भन्ने सपना राजनीतिक व्यक्तिको भएको र राजनीतिक व्यक्तिले नै योजना छनोट गर्नुपर्ने मन्त्री झाँक्रीले बताइन्।

“मंसिरबाट वडाबाट योजना छानिन्थे, फागुनमा गएर जिल्ला परिषद् भएर योजना छनोट हुन्थे। तर आज त संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट कितावमा शब्द हालेर छान्दैछन्। एलआईएम्बीएसमा छैन भने पनि कतैबाट के गरेर शीर्षक पठाइरहेको छ,” उनले भनिन्।

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्वसम्बन्धी ऐन अर्थसमितिमा आफूहरू हुँदा बनाएको उनले बताइन्। त्यसले योजना छनोट अधिकार राजनीतिक व्यक्तित्वलाई दिइने उनको भनाइ थियो। “त्यहाँ ब्यूरोकेसीको भर नै नपर्नुस्। मुलुक कस्तो बनाउने भन्ने सपना राजनीतिज्ञमा नै हुनुपर्छ। आफ्नो क्षेत्रमा निर्वाचन जित्ने अभिलाषाले योजना छान्ने होइन। मैले न्याय गरेँ कि गरिन भन्ने कुरा हेरेर योजना छनोट गरौँ न,” उनको आग्रह थियो।

मन्त्री झाँक्रीले योजना छान्दा कस्ता कार्यक्रम छान्ने ? अर्थतन्त्रमा के दिन सकिन्छ भन्ने कुराको विचार नगरी छान्ने गरिएको बताइन्। सयौँ परिवार प्लाष्टिकका छानामुनि भइरहेको बेला एउटा डाँडामा ५० करोड बढीका भ्यू टावरहरु बनाउन आवश्यक नरहेको भन्दै आधारभूत उपभोगका सेवासुविधा जनतालाई पुर्‍याउनु आजको आवश्यक्ता रहेको औंल्याइन्। मन्त्री झाँक्रीले योजना छान्ने कुराको असन्तुलनका लागि संसदले लगाम लगाउनुपर्ने बताइन्।

मन्त्री झाँक्रीले प्रदेश र स्थानीय तहसँग समन्वय हुन नसक्दा आवास पुनःनिर्माण, शहरी विकासका काम हुन नसकेको पनि बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved