काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने भए पनि पूर्ण फैसला नआएकाले रोकिएका छन् ।
जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटन जाने उनका वकिलहरूले बताइरहेपनि पूर्ण पाठ आइसकेको छैन । बलात्कार आरोपमा दोषी ठहर भएर ८ वर्ष जेल सजाय पाएका सन्दीप सो फैसलाको चित्त नबुझेको भन्दै माथिल्लो अदालत जान चाहन्छन् ।
सन्दीप निर्दोष रहेको र न्यायको लागि आफूहरू उच्च अदालत जान जिल्ला अदालतको फैसलाको पूर्णपाठ कुरिरहेको सन्दीपको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरे बताउँछन् । सामान्यतया पूर्ण पाठ आउन एक महिनासम्म लाग्न सक्छ ।
पूर्णपाठ आएलगतै थुनाबाहिरे बसेर मुद्दा लड्न पाउने मागसहित उच्च अदालत जाने अधिवक्ता घिमिरे बताउँछन् । उनले भने, ‘‘जिल्ला अदालत काठमाडौँको निर्णयविरुद्ध उच्च अदालत पाटन जाँदै छौँ । तर, पूर्णपाठ नआएको रोकिएका छौँ । आएलगतै थुना बाहिरै बसेर मुद्दा लड्न पाउने माग गर्दै निवेदन दिनेछौँ ।’’
केही दिनमै पूर्ण पाठ आउने आफूहरूको विश्वास रहेको उनले सुनाए ।
२०७९ भदौको तेस्रो साता सन्दीपविरुद्ध मुद्दा परेको थियो । भदौ ५ गते पीडितलाई घुम्ने बहानामा नगरकोट लगेको र जानाजान रात पारी काठमाडौँको सिनामंगलस्थित एक होटेलमा पुर्याई बलात्कार गरेको आरोपमा भनिएको थियो ।
Facebook Comment
Comment