निर्माण व्यवसायीको लापरबाहीले सबस्टेसन निर्माणमा ढिलाइ

नेपालभ्युज

निर्माण व्यवसायीको लापरबाहीले सबस्टेसन निर्माणमा ढिलाइ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१ गोकुलेको आरुबोटमा निर्माणाधीन केन्द्रीय विद्युत् प्रसारण लाइनको सबस्टेसन सुस्त गतिमा भइरहेको छ । निर्माण व्यवसायीको लापर्बाहीका कारण सबस्टेसन निर्माणमा ढिलाइ भएको हो ।

निर्माणको जिम्मा पाएको मुख्य कम्पनीको सक्रियतामा काम नभई पेटी ठेकेदारमार्फत काम गरिएकाले निर्माणले गति लिन नसकेको वडा नं १ का वडाध्यक्ष कान्छामान जिम्बाले बताए । उनका अनुसार नेपाल विद्युत् प्राधिकरण, योजना तथा प्राविधिक सेवा विभागको आयोजनामा आवश्यक जग्गा खरिद गरी करिब साढे दुई वर्षअघि काम थालिए पनि जग्गाधनीको अवरोधका कारण एक वर्ष काम रोकिएको थियो ।

चाइनिज कम्पनीले निर्माणको ठेक्का पाएको जनाउँदै वडाध्यक्ष जिम्बाले पछिल्लो समय पेटी ठेकेदारमार्फत काम गराउँदा कामको प्रगति हुन नसकेको बताए । ठेकेदारको निष्क्रियता, काममा लगाइएका मजदुरको पारिश्रमिक नदिनेलगायत गुनासो आउने गरेका उनको भनाइ थियो ।

गाउँपालिकाभित्र केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि दैनिकी सहज हुने स्थानीय बताउँछन् । स्थानीय बासिन्दा रिजन मगरले विद्युत् प्रसारण लाइन गाउँमा पुगेपछि पिलपिले उज्यालोमा जीवन गुजार्दै आएका नागरिकले उज्यालोमा दैनिकी चलाउन पाएको बताए । विकट भनेर चिनिएको गाउँमा बिजुली विस्तार भएपछि यहाँका नागरिकलाई मकै पिस्न र तेल पेल्न टाढा जानुपर्ने बाध्यता हटेको उनको भनाइ थियो । उनका अनुसार अहिले गाउँमा साना मिल सञ्चालन भएका छन् ।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले प्रसारण लाइन विस्तारको काम अगाडि बढाएसँगै निर्माणाधीन सवस्टेशनको काममा भने ढिलाइ भइरहेको बताए । “कामलाई छिटो गति दिनका लागि पटकपटक ऊर्जामन्त्री र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई काम ढिला भएको जानकारी गराउँदै छिटो काम गराउनका लागि आग्रह गर्दै आएका छौँ”, उनले भने, “निर्माण व्यवसायीका कारण नै कामले गति लिन सकेको छैन ।” ताकेता गरेपछि दुई/चार दिन काम गरेजस्तो गर्ने र अरू बेला चासो नदिने अवस्थाले काममा बाधा पुर्‍याइरहेको उनको भनाइ थियो ।

मुख्य ठेकेदार अहिलेसम्म निर्माणाधीन स्थलमा नपुगेको जनाउँदै पालिका अध्यक्ष जिम्बाले पेटी ठेकेदारमार्फत गरिने काममा पनि आधा दर्जनभन्दा बढी ठेकेदार फेरिँदा समस्या थपिएको बताए । सुरुमा बाटोको समस्या देखाएर काम ढिलाइ गरेको भन्दै अहिले सहज हुँदा पनि तीव्रता दिन नसकेको उनले बताए ।

अध्यक्ष जिम्बाका अनुसार उक्त परियोजनाअन्तर्गत महाभारतको वडा नं ३, ४ र ५ का एक हजार र वडा नं ५ र ७ का एक हजार गरी दुई हजार घरधुरीका नागरिकले बत्ती उपभोग गरिसकेका छन् । बाँकी ठाउँमा काम भइरहेको उनले बताए । अहिले बलिरहेको प्रसारणले विद्युत् मात्रै उपभोग गर्न मिल्ने भएकाले साना तथा मझौला उद्योग सञ्चालनका लागि बढी क्षमताको प्रसारण लाइनका लागि सबस्टेसन निर्माण थालिएको विद्युत् प्राधिकरण काभ्रे वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख अमृत अधिकारीले गाउँपालिकामा निर्माणाधीन सबस्टेसनको अवलोकन गर्ने क्रममा निर्माण स्थलमा कोही नभेटिएको जानकारी दिए। “निर्माण सम्पन्न भएर लाइन जोडिएपछि मात्रै आफ्नो क्षेत्राधिकारभित्र पर्ने भएकाले अहिले त्यसको सबै जिम्मा परियोजनाबाट हुन्छ”, उनले भने ।

विद्युत् प्राधिकरण, योजना तथा प्राविधिक सेवा विभागका परियोजना प्रबन्धक सङ्गीता कार्कीले काम भइरहेको जनाउँदै पटकपटक जग्गा धनीले विभिन्न माग राखेर अवरोध गरेकाले केही ढिलाइ भएको बताए । उनले ३३ के.भी क्षमताको प्रसारण लाइन विस्तारको काम थालिएको साढे दुई वर्ष भइसकेको भन्दै उक्त सबस्टेसन सम्पन्न गर्न अब छ महिना मात्रै बाँकी रहेको जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved