काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले बुधबार श्रीलंकामाथि शानदार जित निकालेको छ। नेपालले श्रीलंकालाई आधा दर्जन गोल गर्न सफल भयो।
फराकिलो जित निकाल्दै च्याम्पियनसिपमा नेपालले पहिलो जित दर्ता गराएको छ।
यसअघि पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो। बंगलादेशको ढाकास्थित वप्र श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा बुधबारको खेलमा नेपालका लागि रश्मी कुमारी घिसिङले २ तथा सविता रानामगर, मेनुका आलेमगर, रजनी थोकर र सलोनी रानामगरले पनि एक-एक गोल गर्न सफल भए।
नेपालले खेलको पाँचौ मिनेटमै रश्मीको गोलबाट अग्रता लिएको थियो। लगत्तै छैटौं मिनेटमा सविताले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेकी थिइन्।
४३औं मिनेटमा मेनुकाले गोल गरेपछि नेपालले पहिलो हाफमा ३-० को अग्रता बनाउन सफल भएको थियो।
४८औं मिनेटमा रजनीले गोल गर्दै नेपाललाई ४-० ले अघि बढाइन्। ५३औं मिनेटमा सलोनीले गोल गर्दै नेपाललाई ५-० को फराकिलो अग्रता दिलाएकी थिइन्। फेरि ८५औं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई ६-० को फराकिलो गोलअन्तरले जिताइन्।
जितपछि नेपालले दुई खेलबाट ४ अंक जोडेको छ। समान ४ अंक नै रहे पनि नेपाल बंगलादेशसँग पछि छ। पराजित श्रीलंकाले तीनमा पनि खाता खोल्न सकेको छैन।
Facebook Comment
Comment