नेपाल पर्यटन बोर्ड : २५औं वर्षगाँठसँगै जोडिएको स्थापना कथा   

नेपाल पर्यटन बोर्ड : २५औं वर्षगाँठसँगै जोडिएको स्थापना कथा   

काठमाडौं। गत वर्षको जनवरीदेखि नोभेम्बरसम्म नौ लाख १८ हजार तीन सय ८ विदेशी पर्यटक नेपाल आए । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बर महिनामा मात्रै एक लाख ८ हजार ६ सय ३० विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

गत वर्षका महिनाहरूमा सबैभन्दा बढी पर्यटक अक्टोबरमा भित्रिएका थिए । अक्टोबरमा १ लाख १७ हजार तीन सय ६ पर्यटक नेपाल आएका थिए ।

सन् २०२३ मा सरकारले १० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको थियो । तथ्यांकअनुसार सरकारले लक्ष्यनुरुपको पर्यटन नेपाल भित्र्याउन सफल भएको छ ।

पर्यटक आगमनको मुख्य स्रोत बजार छिमेकी मुलुक भारत, चीन तथा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, श्रीलङ्का, बङ्गलादेश रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । नोभेम्बरमा कुल पर्यटक आगमनमध्ये २० प्रतिशत भारतबाट आएका छन् । सो अवधिमा भारतबाट हवाईमार्ग भएर २४ हजार चार सय ४३ जना पर्यटक नेपाल आएका छन् ।

संयुक्त राज्य अमेरिकाबाट ११ हजार चार सय ६१ जना नेपाल आउँदै गर्दा अर्को छिमेकी मुलुक चीनबाट सात हजार छ सय एक, बेलायतबाट छ हजार एक सय ३८, अष्ट्रेलियाबाट पाँच हजार ६०, थाइल्याण्डबाट तीन हजार सात सय ६१, जर्मनीबाट तीन हजार पाँच सय १२, श्रीलङ्काबाट तीन हजार दुई सय २८ र फ्रान्सबाट तीन हजार दुई सय पाँच जना पर्यटक भित्रिएका छन् ।

यो तथ्यांकले प्रष्ट्याएको छ- २०२३ मा नेपालको पर्यटनले केही लय समातेको छ । यसका लागि नेपाल पर्यटन बोर्डको भूमिका उल्लेख्य रह्यो ।

नेपाललाई पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको देशको रूपमा चिनिन्छ । यहाँको पर्यटन क्षेत्रको विकासमा जोड दिने हो भने नेपालको बिग्रिएको अर्थतन्त्र सुध्रिन धेरै समय नलाग्ला ।

नेपालमा भएका विभिन्न प्राकृतिक छटा र परम्परागत संस्कृतिको मौलिकता झल्काउने पक्षहरूको प्रवर्द्धन गर्दै पर्यटन तान्न सके अर्थतन्त्र फस्टाउनमा धेरै सहयोग पुग्ने विज्ञहरूको भनाई पनि छ ।

नेपाल पर्यटन बोर्डले २०२३ को अन्तिम दिन २५ औं वार्षिकोत्सव पनि मनाएको छ । जहाँ पर्यटन क्षेत्रका सम्बन्धित सबैजनाले सन् २०२३ को पर्यटक भित्र्याउने लक्ष्य सफल भएकोमा खुसी साटासाट गर्दै आ–आफ्नो भनाई राखे ।

२५ औं वार्षिकोत्सवको अवसरमा बोल्दै नेपाल पर्यटन बोर्डको उपाध्यक्ष चन्द्र प्रसाद रिजाल नेपालको पर्यटन क्षेत्र निजी क्षेत्रले धानेको बताएका थिए । नेपालका अधिकांश पर्यटन क्षेत्रको बलियो जग नै निजी क्षेत्र रहेको उनको भनाई छ । नेपालमा पर्यटन क्षेत्रको सम्भावना र महत्त्व सरकारलाई राम्रोसँग बुझाउन नसक्दा यो क्षेत्र अधकल्चो भएर चलिरहेको उनले बताए ।

‘नेपालको पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्र उकास्ने मुख्य आधार भन्ने कुरा सरकारलाई बुझाउन नसक्दा यो व्यवसाय अधकल्चो भएर चलिरहेको छ’, उनले भने ‘पर्यटन व्यवसायलाई निजी क्षेत्रले धानिरहेको छ यसमा सरकारले व्यवसायीहरुसंग हातेमालो गर्दै अघि बढ्नुपर्छ ।’

त्यस्तै, नेपाल पर्यटन बोर्डको अध्यक्ष दीपक काफ्लेले नेपाल घुम्न आउने विदेशी पर्यटकहरू प्रत्येकलाई अतिथि सत्कार गर्ने बताएका छन् । उनले नेपालमा आएका पर्यटकहरूलाई उनीहरूको स्वभाव र रुचि अनुरूपको अनुकूल वातावरण दिन आफूहरू प्रयत्नरत रहेको बताए । उनले भने ‘नेपाल घुम्न आउने सम्पूर्ण विदेशी पर्यटकहरूलाई हामी अतिथि सत्कार गर्नेछौ र उनीहरूको अनुकूलको वातावरण दिन्छौँ ।’

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले नयाँ वर्षसंगै ८० प्रतिशत होटेलहरू बुकिङ भएको कुराले आफू निकै खुसी भएको बताएका छन् । पर्यटन क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड भन्दै उनले यससम्बन्धी धेरै परियोजनाहरूमा मन्त्रालयले काम गरिरहेको बताए ।

नेपालको पर्यटन क्षेत्रलाई मौलिक प्रवृत्तिमा विकास गर्न आफू लागिपरेको उनको भनाई छ । यद्यपि, पर्यटन क्षेत्रमा काम कम कुरा मात्र बढी भएको उनको स्वीकारोक्ति छ ।

स्थानीय भेसभुसा र संस्कृतिको विकास गरेर ब्रान्डिङ गर्न सके यसैबाट पनि उल्लेख्य पर्यटकको ध्यानाकर्षण गर्न सकिने उनले बताए । ‘नेपालको संस्कृति भव्य छ, प्रकृति पनि उस्तै भव्य छ । प्रकृति र संस्कृतिबिचको समायोजनबाट नेपाली पनको पर्यटन क्षेत्र बनाउन सके उल्लेख्य पर्यटक भित्र्याउन सकिन्छ ।’ उनले भने ।

यस्तो छ पर्यटन बोर्डको स्थापना कथा

नेपालमा विदेशी पर्यटकहरूको आवागमनसँगै यो क्षेत्रलाई व्यवस्थित ढंगले अघि बढाउनका लागि सर्वप्रथम वि‍सं २०१६ सालमा पर्यटन बोर्डको स्थापना गरिएको थियो ।

मुलुकले अवलम्बन गरेको खुला बजारमुखी अर्थतन्त्रमा सरकारको भूमिका र कार्यक्षेत्रलाई व्यवस्थित गर्न विसं २०५५ सालमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका दुईवटा विभागहरू हवाई विभाग र पर्यटन विभागलाई खारेज गरी क्रमशः नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डको स्थापना भयो ।

पर्यटन उद्योगको व्यवस्थापन, पर्यटन पूर्वाधार विकास, पर्यटकको सुरक्षालगायत कार्यहरू गर्न नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७१ साउन २ गतेको निर्णयअनुसार मिति २०७१ भदाै महिनामा पर्यटन विभागको स्थापना भएको हो ।

नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तथा नेपाल पर्यटन बोर्डका संस्थापक अध्यक्ष दीपेन्द्र पुरुष ढकालका नेपाल पर्यटन बोर्डको स्थापना निकै कठिनाइहरू झेलेर भएको बताउँछन् । भिजिट नेपाल इयर १९९८ नभएको भए नेपाल टुरिजम बोर्डको जन्म नहुने उनको भनाई छ ।

‘भिजिट नेपाल इयरको अन्तिम दिन ३० फस्ट डिसेम्बर १९९८ मा तत्कालीन श्री पाँचको सरकारले नाकको तालले यो संस्था खडा गर्नुपरेको थियो’, उनले भने ‘सरकारलाई बाध्यता थियो । यदि त्यो समयमा सरकारले नेपाल टुरिजम बोर्ड नबनाएको भए दुईवटा ठूला ठूला प्रोजेक्ट लागू नहुने थियो ।’

सो समयमा निजी क्षेत्रको एकरूपताले त्यो सम्भव भएको उनको भनाई छ । तीन करोड रुपैयाँको बजेट लिएर नेपाल टुरिजम बोर्ड खडा गर्नका लागि देश भरी क्यापियन गरिएको अनुभव उनले सुनाए । त्यो समयमा नेपाल पर्यटन बोर्ड बनाउनका लागि देश नै जुर्मुराएर लागि परेको उनी बताउँछन् ।

नेपाल टुरिजम बोर्डको स्थापना गर्दै गर्दा व्यवसाय गर्ने र नेपालका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा जोड दिँदै विदेशी पर्यटकलाई नेपालमा भित्र्याउने सपना र उद्देश्य रहेको उनको भनाई छ । फगत अहिले सपना र उद्देश्य धमिलिँदै गएको उनी बताउँछन् ।

‘नेपाल टुरिजम बोर्डको स्थापना गर्दै गर्दा निकै सपनाहरू देखिएको थियो’, उनी भन्छन् ‘अहिले त त्यो कहाँ पुग्यो पुग्यो, यहाँ राजनीति पसेको छ । प्रत्येक सीइओहरु अदालत धाउँछन्, स्टे अडर ल्याएर आउँछ र बोर्ड चलाउँछन् ।’

पर्यटन क्षेत्रमा आफूले काम गरेको ८ वर्षे अनुभव बताउँदै उनी अहिलेको पर्यटन क्षेत्र बिथोलिएको बताउँछन् । वर्तमान समयमा नेपालको हवाई क्षेत्रलाई सरकारले युरोपियन युनियन’इयु’को कालोसूचीबाट हटाउन विशेष कदम चाल्नुपर्ने आवश्यक देखिएको उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved