काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेकाले उत्साह जनक वातावरण बन्दै गएको बताएका छन् ।
हात्ती महोत्सव उद्घाटनका लागि चितवन जाने क्रममा भरतपुर विमान स्थलमा सञ्चारकर्मीसँग मन्त्री महतले अर्थतन्त्रमा देखिएको सुधारलाई निजी क्षेत्र र नागरिक समाजले सकारात्मकरुपमा लिनु पर्ने बताए ।
उनले निर्धक्क भएर लगानीको वातावरण बन्दै गएकाले अब अर्थतन्त्र समस्याबाट बाहिर निस्किन थालेको बताए ।
“अर्थतन्त्रमा धेरै समस्याहरू थियो । अहिले त्यो सबै समस्याहरू समाधान हुँदै गइरहेको छ ।” उनले भने, “अहिले देशको अर्थतन्त्र सुधारको गतिमा रहेकाले नै लगानीको वातावरण तयार हुँदै गएको छ ।” उनले घर जग्गाको कारोबार सुधारिँदै जानु, विदेशी रेमिटेन्स र टुरिजम क्षेत्रमा पर्यटकको संख्यामा भएको बढोत्तरीले देशको अर्थतन्त्र लयमा फर्किएको दाबी गरे ।
उनले विगतमा मौद्रिक नीति र वित्त नीतिमा देखिएको कमजोरीले देशमा आर्थिक समस्या भएको जनाउँदै अहिले त्यसमा सुधार आएको बताए ।
विश्वासको वातावरण बनाउन सके जनस्तरबाटै आर्थिक चलायमान गराउन सकिनेमा मन्त्री महतले जोड दिए ।
Facebook Comment
Comment