सरकार परिवर्तन : चर्चा मात्रै कि आधार पनि ?

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बन्न वा कायम रहनका लागि १३८ सिट आवश्यकता पर्छ । यसरी हेर्दा अहिलेको संसदीय गणित ‘इजी मेजरिटी’ हो । यसो हुँदा अहिल्यै सरकार ढल्ने वा अर्को बन्ने आधार देखिँदैन ।

नेपालभ्युज

सरकार परिवर्तन : चर्चा मात्रै कि आधार पनि ?

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको ११ महिना पूरा भइसकेको छ । पहिलो र दोस्रो कार्यकालमा ९ महिनाभन्दा बढी समय पदमा नरहेका प्रचण्ड यसपटक लगभग १ वर्षसम्म पनि पदमै छन् ।

खासगरी पहिलो र दोस्रो कार्यकालमा आफूमाथि उत्पन्न भएको अविश्वासलाई विश्वासमा परिणत गर्ने र सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने उद्घोष गर्दै प्रधानमन्त्री बनेका प्रचण्ड नेतृत्वको सरकार ढाल्ने र नयाँ सरकार गठन गर्ने प्रयत्नहरू अहिले तीव्ररूपमा भइरहेको बताइन्छ ।

खासगरी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र सत्ता साझेदार दल नेपाली कांग्रेसको संस्थापनइतरले सरकार परिवर्तन हुनुपर्छ भन्ने आवाजलाई बोकिरहेका छन् । त्यसमा राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका साना दलहरूले पनि ‘होमा हो’ मिलाइरहेका छन् ।

मंसिर १४ गतेयता महाकाली-मेची सङ्कल्प यात्रामा रहेका एमाले अध्यक्ष ओलीले बीचमा आयोजित सन्देश सभाहरूमा जुनसुकै हालतमा वर्तमान सरकार परिवर्तन हुनुपर्ने बताउने गरेका छन् । उनले वर्तमान सरकार सत्तास्वार्थमा मात्रै लागेको, गर्नुपर्ने काम एउटै नगरेको, भागबन्डा र कमिसनखोरमै समय व्यतीत गरेको आरोप लगाउने गरेका छन् ।

कांग्रेसको संस्थापनइतर पनि सरकार परिवर्तन गर्न चाहन्छ । नेताद्वय डा. शेखर कोइराला र गगनकुमार थापाले मंसिर २७ गते आफूपक्षीय बैठक बोलाएर सरकार परिवर्तनका बारेमा यही ब्रिफिङ्ग गरेका छन् । यसपछि आज बिहान मात्रै विराटनगर झरेका शेखरले विमानस्थलमा पत्रकारहरूसँग भनेका छन्— वर्तमान सरकारबाट जनता निराश छन्, जताततै भ्रष्टाचार र कुशासनबाहेक केही छैन । यो सरकार परिवर्तन गरिहाल्नुपर्छ ।

सरकार परिवर्तनको तीव्र आवाज उठिरहेको बेला त्यसको आधारचाहिँ खासरूपमा देखिँदैन । संसदीय गणित पनि अहिले ठिकठाकै देखिन्छ । अहिले सत्तारूढ गठबन्धनमा नेकपा (माओवादी केन्द्र) का साथै नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी छन् ।

यी दलहरूसँग क्रमश: ३२, ८९, १०, १२, ४, ३ र ६ सिट छ । यी सिटहरूको योगफल १५६ पुग्छ । वर्तमान सरकार पनि यही योगफलअन्तर्गतको हो । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बन्न वा कायम रहनका लागि १३८ सिट आवश्यकता पर्छ । यसरी हेर्दा अहिलेको संसदीय गणित ‘इजी मेजरिटी’ हो । यसो हुँदा अहिल्यै सरकार ढल्ने वा अर्को बन्ने आधार देखिँदैन ।

राजनीतिकरूपमा पनि सरकार परिवर्तनको कुनै आधार नभएको गठबन्धनसम्बद्ध दलका नेताहरू बताउँछन् । पूर्वमन्त्रीसमेत रहेका सत्तारूढ दल माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा अहिले सरकारको परिवर्तनको कुनै सम्भावना नरहेको बताउँछन् । “अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन,” शर्माले भने, “विपक्षमा रहेकाहरूको धर्म नै हो सरकार परिवर्तन हुनुपर्छ भनेर भन्नू ।”

अहिले संसदीय गणित र राजनीतिक समीकरण ठिकठाकै रहेको बताउँछन् शर्मा । “सरकार परिवर्तनको हल्ला मात्रै हो । अहिल्यै सरकार परिवर्तन हुने कुनै सम्भावना छैन,” उनले भने ।

कांग्रेसको संस्थापन पक्ष पनि सरकार परिवर्तन तत्काल नहुने बताउँछन् । आन्तरिक सहमतिअनुसार गठबन्धन अघि बढ्ने उल्लेख गर्दै नेताहरू अहिल्यै सरकार परिवर्तन नहुने बताउँछन् । “गठबन्धनमा भएको सहमतिअनुसार हामी अघि बढ्छौँ,” कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता रमेश लेखकले भने, “गठबन्धन पाँचैवर्ष जान्छ । त्यसमा गठबन्धनमा भएको सहमति कायम हुन्छ ।”

गठबन्धनमा २ वर्षपछि प्रधानमन्त्री कांग्रेसले पाउने सहमति बनेको छ । संस्थापन पक्ष त्यही कुरिरहेको छ । देउवा यहीअनुरूप अगाडि बढ्न चाहन्छन् । त्यसैले उनले यसबारे केही बोलेका छैनन् ।

तर, इतर पक्ष भने सरकार परिवर्तन हुनुपर्ने र नेतृत्व आफूले पाउनुपर्ने पक्षमा छ । इतर पक्षले नेता डा. शेखर कोइरालालाई संसदीय दलको नेता बनाएर अघि बढ्न खोजेको छ । तर, त्यसको आधार भने देखिँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved