भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्छौं : देव खनाल

नेपालभ्युज

भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्छौं : देव खनाल

काठमाडौं। नेपाली क्रिकेट टोलीले एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको छ । मंगलबार नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनालले भने,‘टेस्ट राष्ट्र भारत र पाकिस्तानलाई हराउँदै समूहचरण पार गर्ने लक्ष्य रहेको छ।’

आगामी शुक्रवारदेखि सुरु हुने एसिया कपमा नेपाल भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा छ । तर पनि नेपाली टोलीले यो समूहबाट सेमिफाइनलमा पुग्ने आशा गरेको छ ।

समूह ए मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् । नेपाली टोलीका कप्तान देव खनालले यसअघि पनि नेपालले भारतको यू–१९ टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहोर्‍याउन आतुर रहेको बताए । उनले सिनियर टोलीले पनि राम्रो गरिहेको र आफूहरु पनि एक एक खेलमा ध्यान दिएर अगाडि बढ्ने बताए ।

भारत र पाकिस्तानविरुद्ध राम्रो रन बनाउनु वा विकेट लिनु भनेका सबै यू–१९ टोलीका लागि राम्रो अवसर पनि रहेको कप्तान खनालले धारणा राखे । त्यसैले सबै जना यो समूहमा राम्रो नतिजासँगै राष्ट्रिय टोलीको यात्रा बनाउन पनि आतुर रहेको बताए।

यू–१९ एसिया कपमा मंसिर २२ देखि पुष एक गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा हुँदैछ । यो एसिया कपको अर्को समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, जापान र युएइ छ । त्यसैले समूह ‘बी’ को तुलनामा समूह ‘ए’ नेपालजस्तो एसोसिएट राष्ट्रका लागि निकै चुनौतिपूर्ण हो ।

यू–१९ एसिया कपको आठ पटक विजेता भारत र एक पटक विजेता पाकिस्तान एकै समूहमा रहेकाले नेपालका लागि चुनौतिपूर्ण रहनेछ । यद्यपि, यो उमेर समूहमा भारतलाई हराएको इतिहास रहेकाले पनि नेपाली युवा टोली उच्च आत्मवलका साथ एसिया कपको यात्रा थाल्दैछन् । कप्तान देवले एसिसी यू–१९ एशिया कपमा नेपालको मुख्य लक्ष्य टेस्ट टोलीलाई हराउँदै सेमिफाइनलमा पुग्ने आशा व्यक्त गरे।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार आयोजना गरेको बिदाई कार्यक्रममा नेपाली टोलीका कप्तान देवसँगै प्रशिक्षक जगत टमटाले बिना दबाबमा राम्रो प्रदर्शन गर्ने धारणा राखेका छन् । उनले सिनियर टोलीबाट राम्रो खेलेका गुल्सन झा पनि टोलीमा समावेश रहेकाले आफ्नो टोली थप उत्साहित रहेको बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved