काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट र रुकुमपश्चिमका भूकम्पप्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ताको रकम दिन ढिला नगरिने बताएका छन् ।
बिहीबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले भूकम्पप्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि दिइने ५० हजार रुपैयाँमध्ये पहिलो किस्तामा नगदै २५ हजार रुपैयाँ दिइने बताए । उनले पहिलो किस्ता बुझेर आवास निर्माणको काम सुरु गर्ना साथै बाँकी २५ हजार रुपैयाँ बैंकमार्फत दिइने बताए ।
दोस्रो किस्ता दिनका लागि पनि कुनै ढिलाइ नहुने उनले स्पष्ट पारे । उनले दुई किस्तामा दिइने भएपनि समयको ग्याप धेरै नहुने भएकाले एकै किस्ता दिए जसरी नै रकम प्रदान गरिने उल्लेख गरे ।
गृहमन्त्री श्रेष्ठले अस्थायी आवास निर्माणका लागि मात्रै ५ अर्ब रुपैयाँ चाहिने बताए । उनले पुनर्निर्माणको सम्बन्धमा आँकडा बनाएर दाता राष्ट्रहरु र दातृ निकायहरु सँग छलफल गरी योजना बनाएर काम गर्ने बताए ।
Facebook Comment
Comment