नेपालमा कार्वन उत्सर्जन शून्य बनाउन कुनै चुनौती छैनः मन्त्री महत

नेपालभ्युज

नेपालमा कार्वन उत्सर्जन शून्य बनाउन कुनै चुनौती छैनः मन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा कार्वन उत्सर्जन शून्य बनाउन कुनै चुनौती नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजना भएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।

कार्वन उत्सर्जन कम गर्न नेपालको ४५ प्रतिशत वन जङ्गल बनाएको विषयलाई विश्वले प्रशंसा गर्नुपर्ने उनको भनाइ छ । उनले नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अक्सिजन धेरै उत्पादन गर्ने र कार्वन उत्सर्जन कम गर्नका लागि ४५ प्रतिशत भू–भाग जङ्गलका रुपमा स्थापित गरिरहेको बताए । अर्थमन्त्री महतले कार्वन उत्सर्जन कम गर्न सवारीसाधनहरु समेत विद्युतीयमा परिमार्जन भइरहेको उल्लेख गरे ।
उनले सन् २०४५ भित्र विशुद्ध शून्य कार्वन उत्सर्जनमा पुग्ने लक्ष्यमा विश्वले कुनै शंका नराख्न आग्रह गरे ।

उनले नेपालले जलवायु परिवर्तनको कारण भोगिरहेको समस्या कार्वन उत्सर्जन शून्य बनाउँदैमा मुक्त नहुने भन्दै अन्य विकसित देशले पनि पूरा गर्न आवश्यक रहेको बताए । विकशित देशले उत्सर्जन गरेको कार्वनको कारण भएको जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको उनको भनाइ छ ।

उनले नेपालका हिमालहरुको हिउँ पग्लिएको नेपालले कार्वन उत्सर्जन गरेको कारणले नभएर अन्य देशको कारणले भएको भन्दै विकसित मुलुकहरुले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्नको लागि आर्थिक सहयोग गर्नुपर्ने बताए ।

उनले नेपालमा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने डोनर एजेन्सीहरुबाट सहयोग लिएर नेपालमा रिपोर्ट मात्रै प्रस्तुत गर्ने भन्दा पनि कार्यक्रम ल्याउन आग्रह गरे । उनले सन् २०३० भित्र नेपालको कुल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट परिपूर्तिको सुनिश्चितता गर्ने गरी नेपालमा जलविद्युतमा लगानी भइरहेको बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved