काठमाडौं। पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिताको अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री रेस हुन लागेको छ। नेपाल पर्यटन बोर्ड, नेपालका लागि चिनियाँ राजदूतावास, पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एसोसिएसन र होटल एसोसिएसन पोखरा सहआयोजना मंसिर ९ गते प्रतियाेगिता हुन लागेकाे हाे ।
नेपाल र चीन मैत्रीपूर्ण सम्बन्ध विस्तार तथा नेपालको पर्यटन प्रर्वद्धनका लागि आयोजना गर्न लागेको यस प्रतियोगितामा नेपालका १० र चीनका १० टिमले सहभागिता जनाउँदै छन्। प्रत्येक टिममा ३ जना खेलाडीहरु रहने प्रतियोगितामा कुल ६० जना खेलाडीहरु सहभागी हुने छन्।
यसअघि सन् २०१९ मा पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएको थियो। कोभिड-१९ महामारीका कारण रोकिएको प्रतियोगिता अहिले फेरि सञ्चालन गर्न लागिएको हो। प्रतियोगितामा सहभागी हुन हिमालयन एयरलायन्सको विमान चार्टर उडान गरी खेलाडी, अफिसियल र अन्य पाहुनासहित १ सय ४ जना चिनियाँ पोखरा आउँदैछन् । उनीहरु चीन सरकारकै सहयोगमा चार्टर उडानमार्फत् पोखरा आउन लागेका हुन्।
प्रतियोगितामा धावकहरूले दौड, साइक्लिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्नेछ । फेवाताल किनार बाराहीघाटबाट सुरू हुने प्रतियोगिता डेभिड फल हुँदै विश्व शान्ति स्तुप पुगेर फेवातालमा बोटिङ गरी फेरि बाराहीघाट आएर अन्त्य हुने छ ।
नेपाल र चीनका खेलाडीबीच हुने मैत्रीपूर्ण प्रतिस्पर्धाका साथै व्यक्तिगत दौड प्रतियोगिता ३८ किलोमिटर, आम नागरिकका लागि पब्लिक इभेन्ट ५ किलोमिटर र विद्यार्थीका लागि ५ किलोमिटर दौड पनि प्रतियोगितामा समावेश गरिएको छ।
नेपाली र चिनियाँ धावकबीच हुने प्रतियोगिताका प्रथम हुने टिमले ३ लाख ६० हजार , दोस्रोले २ लाख ८८ हजार , तेस्रोले २ लाख १६ हजार र चौथो टिमले १ लाख ४४ हजार र पाँचौं हुने टिमले ९० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
व्यक्तिगत स्पर्धामा प्रथम हुनेले १ लाख ४४ हजार , दोस्रोले १ लाख ८ हजार र तेस्रोले ५४ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। व्यक्तिगत स्पर्धामा चौथोदेखि १० औं तहमा आइपुग्ने धावकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ। यस्तै, विद्यार्थीको प्रतिस्पर्धामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । यो प्रतियोगिता सफल बनाउन विभिन्न २२ वटा उपसमिति गठन गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
Facebook Comment
Comment