हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटस्थित सिमकोट गाउँपालिकाले पालिकालाई कुपोषण मुक्त बनाउनका लागि ‘कुपोषण पहिचान घर कार्यक्रम’ सुरु गरेको छ । कुपोषित सहजै पत्ता लगाउनका लागि १ देखि ८ नं वडासम्म दुई किसिमका झण्डा राख्ने अभियान गाउँपालिकाको स्वास्थ्य शाखाले सुरु गरेको हो ।
छ महिनादेखि २३ महिनासम्मका बालबालिका बढी कुपोषण हुने भएकाले कुपोषण पहिचान गरी ‘मध्यम शीघ्र कुपोषण’को घरमा पहेंलो र ‘कडा शीघ्र कुपोषण’ भएका बालबालिकाको घरमा रातो झण्डा राख्ने कार्य सुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक वसन्ती रावतले जानकारी दिइन्। उनका अनुसार बालबालिकामा ‘स्क्रिनिङ’ गर्न सुरु गरिएको छ ।
यहाँ यसअघिदेखि नै गर्भवतीका घरमा निलो झण्डा राख्न थालिएको थियो ।
शाखाले १ देखि ८ नं वडाका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १९ जनामा कुपोषण भएको पाइएको सहसंयोजक रावतले जानकारी दिइन् । गाउँपालिका मातहतका स्वास्थ्य चौकीअन्तर्गतका सबै वडामा गरी १९ बालबालिका कुपोषित रहेको पाइएपछि उनीहरुको घरमा दुई किसिमको झण्डा राखिएको उनले बताइन् ।
“वडा ३ मा तीन, वडा ६ मा चार, वडा ७ मा चार र वडा ८ मा तीन गरी १४ जनामा शीघ्र कुपोषण भएको पाइएको छ”, उनले भनिन्, “वडा ५ मा एक, वडा ६ मा दुई र वडा ७ मा दुई गरी पाँच जनाका कडा शीघ्र कुपोषण भएको पाइएको छ ।” कुपोषित पहिचानका लागि शीघ्र कुपोषण भएका १४ बालबालिकाको घरमा पहेंलो झण्डा र कडा शीघ्र कुपोषण भएका पाँच बालबालिकाको घरमा रातो झण्डा राखिएको रावतले जानकारी दिइन् ।
स्वास्थ्यचौकीले बालबालिकाको पोषणमा सुधार ल्याउनका लागि अभियान सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । बालबालिकाको तौल वृद्धि अनुगमन गरी पोषकतत्व, सर्वोत्तम पिठोलगायत आवश्यक खानेकुरा वितरण गर्नका लागि अभियान सुरु गरेको थियो । योसँगै कुपोषित बालबालिकाका लागि ‘पोषण प्याकेज कार्यक्रम’ सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।
Facebook Comment
Comment